विद्यालय खोल्न हतार नगरौँ

काठमाडौं, ३० मंसिर । कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अन्य जिल्लामा केही सहज अवस्था भए पनि उपत्यकाका तीन जिल्ला र कास्कीमा भने विद्यालय पुनः सञ्चालनमा ल्याउन नहुने बताए ।

उनले देशभरका कुल सङ्क्रमितमा ४० देखि ६० प्रतिशत उपत्यकाका तीन जिल्लाकै भएका कारण यो अवस्थामा विद्यालय सञ्चालन गरेर जोखिम उठाउन नहुने बताउँदै यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिए पुसमा कोरोनाको जोखिमको अवस्था भयावह हुनसक्ने बताए ।

उनले भने, “सहरी क्षेत्र भएको र वैकल्पिक विधिमध्ये अनलाइन माध्यमबाट कक्षासमेत सञ्चालन भइरहेको अवस्थामा भौतिक रूपमा नै कक्षा सञ्चालनका लागि बेला भएको छैन । ”

कोरोना प्रभावित अत्यन्त कम भएका जिल्लामा भने स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न सकिने जनाइएको छ । प्रवक्ता डा. गौतमले जोखिम कम भएका जिल्लामा पाँच, छ जना मात्र सङ्क्रमित भएको अवस्थामा भने सावधानीपूर्वक विद्यालय सञ्चालन गर्न सकिने स्पष्ट पारे । उनले विद्यालय खुलाउँदा शिक्षक तथा विद्यार्थी दुवैले स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले भौतिक दूरी कायम गर्ने, नियमित प्रार्थना बन्द गर्ने तथा आपसी भेटघाट कम र विद्यालय सञ्चालन हुने समय व्यवस्थापन गरेर कक्षा सञ्चालनमा ल्याउन सकिने बताए ।

महानगरमा समय लाग्छ
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम नभएपछि काठमाडौँ महानगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुग्न सकेको छैन । उपत्यकाका अन्य नगरपालिकाले विद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि सङ्क्रमणको सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको काठमाडौँ महानगरमा विद्यालय सञ्चालनमा आउन केही दिन लाग्ने देखिएको छ ।

महानगरपालिकाका शिक्षा प्रमुख नमराज ढकालले विद्यालय सञ्चालनका विषयमा महानगरपालिकाले हतार नगरेको तर सरोकारवालासित छलफल भने जारी राखेको जानकारी दिए ।

उनले उपत्यकामा मात्रै विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी तीन लाखभन्दा बढी रहेको र २० वटा स्थानीय तहबाट विद्यार्थी काठमाडौँ महानगरमा आउजाउ गर्ने भएका कारण विद्यालयको सञ्चालन जोखिमपूर्ण हुने आशङ्का गरिएको बताए । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here