तीन विद्यालयका २३ शिक्षकमा कोरोना

काठमाडौं, २९ मंसिर । सुर्खेत र सल्यानका २३ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू कार्यरत ३ वटा विद्यालयमा पठनपाठन बन्द गरिएको छ । सुर्खेतका २ विद्यालयका १५ जना र सल्यानको १ विद्यालयका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाको पलैंटेस्थित सूर्यप्रकाश माविका ११ जना र बाबियाचौरस्थित विद्याज्योति माविका ४ जना शिक्षक संक्रमित भएका हुन् । विद्याज्योति माविका एक शिक्षकलाई अघिल्लो साता संक्रमण देखिएपछि अन्यकोपीसीआर परीक्षण गर्दा थप ३ शिक्षक र १ कार्यालय सहयोगीमा कोरोना पोजिटिभ देखिएको विद्यालयका सहायक प्रधानाध्यापक तीर्थ भण्डारीले बताए । सूर्यप्रकाश माविका ३९ जनाको पीसीआर परीक्षण गर्दा ११ जना शिक्षकमा कोरोना देखिएको हो । शिक्षक संक्रमित बनेपछि सूचना निकाली विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

शिक्षक संक्रमित बनेपछि विद्यार्थीमा त्रास बढेको भण्डारीले बताए । नगरपालिकासँग छलफल गरी विद्यार्थीको पनि पीसीआर परीक्षण गरेर मात्रै पठनपाठन सञ्चालन गरिने उनको भनाइ छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ किमुचौरस्थित नेपाल राष्ट्रिय माविका ८ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । समुदायमा संक्रमण फैलिने भन्दै एक साताका लागि विद्यालय बन्द गरिएको हो । विद्यालय मंसिर ७ देखि सञ्चालनमा आएको थियो । प्रधानाध्यापक सिट्टिसाप विष्टका अनुसार १८ शिक्षकमध्ये ७ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । ‘सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न सक्ने अवस्था देखिएन,’ उनले भने, ‘संक्रमित शिक्षकमध्ये २ जनामा लक्षणसमेत देखिएको छ ।’ विद्यार्थीको पनि कोरोना परीक्षण गराउन गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए । विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म ९ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

यसअघि कपुरकोटको दानबाङस्थित सरस्वती प्रावि र कालिका माविका १/१ शिक्षक संक्रमित भएपछि पठनपाठन ठप्प भएको थियो । ‘सामुदायिक विद्यालयका शिक्षकहरूमा धमाधम कोरोना देखिएपछि पठनपाठन अनिश्चित बनेको छ,’ गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले भने, ‘अरू विद्यालयमा पनि शिक्षकको स्वाब संकलन भइरहेको छ ।’ लकडाउनसँगै बन्द भएका विद्यालय तिहारपछि सुरक्षा सावधानी अपनाएर खुलेका थिए तर शिक्षक नै संक्रमित भएपछि अभिभावक र विद्यार्थी जोखिममा परेका छन् ।

स्वास्थ्य मापदण्डबिनै खुले विद्यालय
पर्वतका विद्यालय पनि केही दिनयता धमाधम खुल्न थालेका छन् । स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालनमा आउन थालेका हुन् । स्वास्थ्य सुरक्षाका मापदण्ड, भौतिक दूरी, स्वास्थ्य परीक्षणलगायत प्रक्रिया पुर्‍याउनुपर्ने भनिए पनि गत चैतअघि जसरी नै सामुदायिक विद्यालय सामान्य अवस्थामै खुलेको पाइएका छन् ।

पर्वतका सातवटै स्थानीय तहका सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । कतिपय विद्यालयले पूर्ववत् रूपमा १० देखि ४ बजेसम्म नै कक्षा सञ्चालन गरेका छन् । पूर्ण रूपमा खुलेका कतिपय विद्यालयले भने अहिलेसम्म विद्यार्थीलाई आलोपालो गर्दै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गरेको बताएका छन् । कतिपय विद्यालयले भने अब वार्षिक परीक्षाको मिति नजिकिएको र शैक्षिक सत्र गाभ्न नमिल्ने भएपछि कोर्ष सर्क्नकै लागि सबै विद्यार्थी बोलाउनुपरेको बताएका छन् ।

कोभिडका बिरामी समुदायस्तरमै देखिइरहेको अवस्थामा विद्यालय खुल्नाले जोखिम अझै बढ्ने भन्दै अगुवाले चिन्ता व्यक्त गरेका छन् । ‘स्वास्थ्यकर्मी र कुश्माकै समुदायका व्यक्तिमा संक्रमण देखिन छाडेको छैन,’ पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले भने, ‘तिनै समुदायका विद्यार्थी विद्यालयमा जाँदा संक्रमणको जोखिम अझै बढ्छ । विद्यालय खोल्न हतार नगरेको भए हुन्थ्यो ।’ स्वास्थ्य मापदण्डको ख्याल नगरी विद्यालय खोल्न नहुने पर्वत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिशिर देवकोटाले बताए ।

शिक्षा मन्त्रालयले कोरोना संक्रमणको अवस्था मूल्यांकन गरेर आआफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालनको निर्णय लिन स्थानीय तहलाई जिम्मेवारी सारेपछि शैक्षिक संस्थाहरू क्रमिक खुलेका हुन् । शिक्षकहरूले अब नियमित कक्षा सञ्चालन गर्नुको विकल्प नभएको बताएका छन् । कान्तिपुर दैनिकमा चाँदनी कठायत,विप्लव महर्जन र अगन्धर तिवारीेले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here