
काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र समीकरण बनाएर अन्तरविरोध थप नचर्काउन अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। पूर्वपार्टीभित्र रहेको अन्तरविरोधमा खेलेर समीकरण बनाउने, सरकार र पार्टीलाई अप्ठ्यारो पार्ने काममा नलाग्न ओलीले दाहालसँग आग्रह गरेका हुन्।
नेकपाका यी दुई अध्यक्षबीच शक्ति संर्घष चर्किरहेका बेला बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घण्टा छलफल भएको थियो। यी दुई नेताबीच कात्तिक २५ यता खास छलफल भएको थिएन। यसअघि मंसिर २० मा बल्ल आधा घण्टा संवाद भएको थियो।
ओलीले बुधबारको भेटमा दुई नेता मिलेर पार्टी एकताको हिम्मतिलो निर्णय लिएको स्मरण गराए। उनले दुई नेताले महाधिवेशनसम्म सहमतिका साथ नै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। पार्टी बैठकको एजेन्डा दुई अध्यक्षको सहमतिमा तय गर्ने, त्यसलाई महासचिवले कार्यसूचीमा राख्ने र छलफल गर्ने, सहमति नभएको विषयलाई अझ छलफल गरेर फेरि सहमति खोज्ने गरी जानुपर्ने अन्तरिम विधानको बाटोबाट अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले अहिले बहुमत र अल्पमतलाई ठाउँ दिएर जान नसकिने र त्यसरी गरिने निर्णय आफूलाई मान्य नहुने अडान लिएका थिए। पार्टीमा समीकरण बनाएर एउटा नेताविरुद्ध अर्काे लाग्ने गर्नाले समस्या आएको ओलीको भनाइ थियो। उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग समीकरण बनाएर नहिँड्न दाहालसँग आग्रहसमेत गरेको स्रोतको भनाइ छ। नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालको त्रिपक्षीय शक्ति सन्तुलन छ। जसमध्ये दुई पक्ष एकातिर मिल्दा अर्काे पक्ष कर्नरमा पर्दै आएको छ। नेकपामा अहिले ओली एकातिर र दाहाल–नेपाल अर्काेतिर छन्।
दुवै अध्यक्षले एकअर्काेलाई आरोप÷प्रत्यारोप गरी छुट्टाछुट्टै प्रस्ताव पार्टी बैठकमा पेस गरेका छन्। दुवै प्रस्ताव स्थायी समिति सदस्यहरूलाई अध्ययनका लागि बाँडिएको छ। यी दुवै प्रस्तावमाथिको छलफल रोकेर पार्टीभित्र देखापरेको संकटमा नयाँ प्रस्ताव बनाएर छलफल गर्नुपर्ने पक्षमा प्रधानमन्त्री ओली देखिएका छन्।
दाहालको प्रस्तावमा कतिपय अराजनीतिक र फौजदारी आरोप रहेको र त्यसलाई आफूले खारेज गरिसकेकाले त्यसमा हुने छलफलमा आफू सहभागी हुन असमर्थ रहने भन्दै ओलीले २१ मंसिरको स्थायी समिति बैठकमा पत्र पठाएका थिए। तर, दाहाल नेपाल पक्ष भने दुवै प्रस्ताव छलफल गरी एउटा निष्कर्षमा पुग्नुपर्ने पक्षमा छ।
आ–आफ्नो अडानमा रहँदा पार्टी गम्भीर संकटमा परेको भन्दै कतिपय नेताले दुवै पक्षलाई मिलाउन दबाब बढाउन पनि खोजिरहेका छन्। नेताहरूका बीचमा संवाद गराउन र सहमतिका कुनै न कुनै विकल्प खोजी गर्न स्थायी समिति बैठक २८ मंसिरसम्म रोकिएको छ। नेताहरूले स्थायी समिति सदस्यलाई दुवै अध्यक्षका प्रस्ताव, दुई अध्यक्षबीच आदानप्रदान भएको चिठीपत्रलगायत सामग्री अध्ययन गरी छलफलमा भाग लिन आउन आग्रह गरेका छन्।
दाहालसँग सम्बन्ध चिसिएपछि ओलीले आफ्नो पूर्वसमूहका नेताहरूलाई कुनै आरोप नलगाई दाहालमाथि खनिएर प्रस्ताव ल्याएका थिए। उनको यस्तो कदमलाई पूर्वएमाले धारका नेता नेपाल, वामदेव गौतमलगायतलाई ओलीले फकाउन खोजेको अर्थमा नेकपा नेताहरूले लिएका थिए । तर, बुधबार दाहालसँगको छलफलमा भने ओलीले नेपालसँगको समीकरण तोडेर दुई अध्यक्ष मिलेर महाधिवेशनसम्म अगाडि जानुपर्ने धारणा व्यक्त गरेका थिए। दाहालले भने आफूले पार्टीमा कुनै समीकरण नबनाएको भन्दै पार्टीका सबै नेतालाई मिलाएर अगाडि बढ्न खोजेको जवाफ दिएको स्रोतले बताएको छ।
उनले वरिष्ठ नेता नेपाललाई आफूले जनयुद्धकालदेखि नै नजिकबाट चिनेको र संगत गरेको भन्दै नेपालसँगको सम्बन्धमा आफूमा कुनै अप्ठ्यारो नरहेको बताएका थिए। ‘यो नेतासँग सम्बन्ध बनाऊ, यो नेता उस्तो यस्तो भन्ने भन्दा पनि म माधव कमरेडसँगको सम्बन्धका विषयमा धेरै जानकार छु। जनयुद्धकालदेखि नै राम्रोसँग नजिकबाटै चिन्ने मौका पाएको छु, यसमा तपाईंले मलाई चिनाइदिनु पर्दैन’, दाहालको भनाइ उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले भने।
दाहालले आफ्ना कुरा पार्टी बैठकमा आएर राख्न र दुवै अध्यक्षका प्रस्ताव छलफल गरेर त्यही बीचबाट स्थायी समिति सदस्यहरूले नयाँ प्रस्ताव ल्याउन भने आफू तयार रहेको भनाइ राखेका थिए। पार्टी कमिटीमै जाऔं, त्यहीँ छलफल गरौं, साथीहरूले जे भन्नुहुन्छ, त्यहीअनुसार जाऔंला दाहालले ओलीसँग भनेका थिए।
दाहालले कात्तिक २८ मा ओलीलाई आरोपित गर्दै १९ पृष्ठको प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवाद बढेको थियो। त्यसपछि ओलीले पनि दाहाललाई आरोप लगाउँदै ३८ पृष्ठको प्रस्ताव ल्याएका थिए। बुधबारको छलफलमा पनि उनीहरू आ–आफ्ना अडानमा टसमस नदेखिएको दुवै अध्यक्षका निजी सचिवालयले जनाएका छन्। दाहालसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका थिए।
अबको स्थायी समिति बैठकमा ओली जाने नजाने अझै अन्योल छ। दोस्रो पुस्ताका कतिपय नेता दुई नेतालाई मिलाउन दौडधुपमा सक्रिय रहे पनि परिणाम फलदायी हुन सकिरहेको छैन। अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।