मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड विहान र दिउँसो गरि दैनिक ६ घण्टा बन्द हुने

बागलुङ, २२ मंसिर । राष्ट्रिय गौरवको अयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको बागलुङ–काठेखोला खण्ड मंसिर २५ गतेदेखि दैनिक ६ घण्टा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा सम्पन्न सर्वपक्षीय बैठकले लोकमार्गको कठिन भाग बागलुङ नगरपालिका–३ बोक्सेखाल्टा र काठेखोला गाउँपालिका–१ खहरे क्षेत्रको पहरो कटान गर्न करिब तीन हप्ता सवारी संचालन बन्द गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार मंसिर २५ गतेदेखि पुस १५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र दिनको ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर पहरो कटान गर्ने निर्णय भएको छ ।बागलुङ बजार– अक्षेते खण्ड सडक विस्तार तथा स्तरोन्नति गर्न दुई ठाउँमा पहरो कटान गर्नुपर्ने र सवारी सञ्चालन भैरहँदा काम गर्न कठिन भएको हुँदा सहजताको लागि सवारी सञ्चालन केही समय रोक्न आयोजना कार्यालयले प्रशासनलाई आग्रह गरे पनि उक्त निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो ।

लोकमार्गको विकल्पमा बागलुङ बजारदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ चल्ने साना सवारी साधन बागलुङ बजार– गहँते हुँदै खहरे र खहरेदेखि पाला हुँदै अक्षेते सडकलाई प्रयोग गर्न सकिने छ । वैकल्पिक सडक मार्ग संचालन गर्न आयोजना कार्यालयले बागलुङ नगरपालिका र काठोखोला गाउँपालिकासँग समन्वय गर्न छ ।

पहरो कटान गर्ने क्षेत्रको नजकिमा बागलुङ सदरमुकाममा वितरण भएको खानेपानीको पाइप रहेको हुँदा पानी वितरण सुचारु राख्न आयोजना कार्यालयले बागलुङ नगर खानेपानी उपभोक्ता समितिसँग समन्वय गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा सवारी प्रवेश विन्दुहरु बागलुङ बजार, खहरे खोला र अक्षेते बजारमा सवारी प्रवेश निषेधको समय तालिकासहितको सूचना बोर्ड राख्ने र स्थानीय सुरक्षा निकाय, निर्माण व्यवसायी र स्थानीय तहको आपसी समन्वयमा सुरक्षा व्यवस्था मिलाउने छन् ।

बागलुङ बजारदेखि घोडाबाँधेसम्म २५ किलोमिटर सडक अहिले विस्तारकै चरणमा छ । पटक पटक निर्माणको म्याद थप गरे पनि अधुरै रहेको लोकमार्ग निर्माणको कार्य आगमी जेठसम्म सक्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

बागलुङ बजारदेखि घोडाबाँधेसम्म दुई निर्माण कम्पनी खहरे खण्ड सिद्धिशाही प्रकाश जेभी र बिहुँ खण्डकोे सडक एपि इलाइट सूर्य कन्स्ट्रक्सन जेभीले सडक निर्माणको जिम्मेवारी लिएका छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here