
बागलुङ, २० मंसिर । बागलुङमा शनिबार एक कार्यक्रमका बीच १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखा बागलुङको आयोजनामा १७ औं रािष्ट्रय महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । उक्त कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटाउन ल्याउन स्वयंसेविकाहरुले अहम भुमिका निर्वाह गरेको बताउनुभयो ।
उपमेयर खड्काले स्वयंसेविकाहरुलाई आफ्ना समस्याहरुको सम्पूर्ण स्वयंसेविकाहरु बसेर आफुलाई जानकारी गराउन अनुरोध गर्नुभएको थियो । उहाँले उक्त समस्याहरुको समाधान गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ की वडाअध्यक्ष लक्ष्मी बास्कोटा र नगर स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले ६० वर्ष पुगेका स्वयंसेविकाहरुलाई सम्मानका साथ विदाई गरिने बताउनुभयो । उहाँले नगरपालिकाले ६० वर्ष पुगेका स्वयंसेविकाहरुलाई सम्मानको लागि २ लाख रुपैयाँ बजेट विनियोजित गरेको समेत जानकारी दिनुभयो । कार्यक्रममा स्वयंसेविकाका तर्फबाट सर्मिला चर्माकारले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बागलुङ नगरपालिका वडा नं. १–४ की संयोजक कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सहसंयोजक गिता शर्मा र स्वागत मन्तव्य दुर्गादेवि शर्माले गर्नुभएको थियो ।
बागलुङ नगरपालिकाको १४ वटा वडामा १ सय ९९ जना स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् ।













