
बागलुङ, १७ मंसिर । जिल्लाको काठेखोला गाउँपालिकामा कोभिड–१९ अस्थायी अस्पतालको आज (बुधबार) उद्घाटन गरिएको छ ।
संघिय सरकारको १० लाखको सहयोगमा गाउँपालिका वडा नम्बर ६ विहुँ स्थित भिमसेन प्राथमिक विद्यालयको भवनमा स्थापित कोभिड–१९ अस्थायी अस्पतालको गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले उद्घाटन गर्नुभएको हो । कोरोना संक्रमितहरुको पालिकास्तरमै उपचार गर्ने उद्देश्यले संघिय सरकारले हरेक पालिकामा कोभिड अस्थायी अस्पताल बनाउन बजेट सहित निर्देशन दिएपछि १० बडेको अस्पताल स्थापना गरिएको हो ।
अस्पतालमा रहेका १० बेड मध्य पाँच बेडमा आक्सिजन सहितको रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभयो । उहाँले संघिय सरकारले ५ बेडको अस्पतालको लागि पठाएको १० लाख बजेट पठाएपनि आफुहरुले १० बेडको बनाएको बताउनुभयो । उहाँले संघिय सरकारले अस्थायी अस्पतालमा १ जना डाक्टर, २ जना नर्स र १ जना कार्यालय सहयोगी भर्ना गर्न भनेपनि अहिले २ जना नर्स र १ जना कार्यालय सहयोगी मात्र रहेको बताउनुभयो । उहाँले डाक्टरको लागि आवेदन आव्हान गरेपनि कुनै निवेदन नपरेको बताउनुभयो ।
उहाँले अस्थायी कोरोना अस्पताल निर्माणको लागि ५० हजारको औषधि र भवनमा विजुली, आवास व्यवस्थापन लगायत गरि ३ लाख ९६ हजार रुपैयाँ खर्च भएको बताउनुभयो । जनस्वास्थ्य अधिकृत लामाले गाउँपालिकामा हालसम्म ७८ जना संक्रमित भएको र ७४ जना निको भइसकेको जानकारी दिनुभयो । उहाँले गाउँपालिकामा निर्माण गरेको आइसोलेसनमा हालसम्म २२ जना भर्ना भइ २० जना निको भएर घर फर्किएको जानकारी दिनुभयो । उहाँले आइसोलेसनबाट भेन्टिलेटर र आईसियू बाहेकको अन्य उपचार गरिने बताउनुभयो ।
अस्थायी अस्पतालको उद्घाटन पछि बोल्दै गाउँपालिका अध्यक्ष अमर थापाले कोभिड–१९ महामारी न्यूनिकरणको लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभयो । उहाँले अहिलेसम्म गाउँपालिकामा कुनै पनि मानविय क्षति नभएको र त्यसको लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । गाउँपालिकाले अध्यक्ष थापाले गत वर्ष स्थानिय पूर्वाधार साझेदारी कार्यक्रमबाट १ करोड ६० लाखको रिङरोडको काम गरेको र त्यसमा खर्च नभएको १६ लाख रुपैयाँ कोभिडमा खर्च गरेको र यस वर्ष गाउँसभाबाट ८० लाख रुपैयाँ विनियोजित गरेको बताउनुभयो ।
उहाँले कोभिड महामारीको बेला बाहिरी जिल्लाबाट आउने नागरिकहरुलाई बागलुङ बजार र पोखराबाट गाउँपालिकाले नै गाडीको व्यवस्थापन गरेर क्वारेन्टाइनमा राखि कोरोना परिक्षणपछि घर पठाइएको बताउनुभयो । गाउँपालिका अध्यक्ष थापाले संघिय सरकारले पाँच बेडको लागि अस्थायी अस्पताल निर्माण गर्न भनेपनि आफुहरुले पूर्वतयारीका साथ १० बेडको अस्पतालन निर्माण गरेको बताउनुभयो । उहाँले संक्रमितहरुलाई आइसोलेसनमा बस्दा दैनिक ३ पटक खानाको व्यवस्था गरिएको र कोभिड महामारीमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५० र ७५ प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष थापाले कोभिड अस्थायी अस्पतालमा अहिले पाँच बेडमा मात्र अक्सिजनको व्यवस्था भएकाले चाडै नै १० बेडमा नै अक्सिजनको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
कोभिड–१९ अस्थायी अस्पतालको उद्घाटन कार्यक्रममा नेकपा काठेखोलाका अध्यक्ष डिलबहादुर कार्की, नेपाली काँग्रेस काठेखोलाका अध्यक्ष ज्ञामनाथ कंडेल, राष्ट्रिय जनमोर्चा काठेखोलाका अध्यक्ष लक्ष्मण पुन र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडाबहादुर कार्कीले स्वागत मन्तव्य र ना.सु. मनोज कार्कीले संचालन गर्नुभएको थियो ।













