अब डोकामा बोकिनु पर्दैन कि !

तस्वीर सौजन्य : कान्तिपुर दैनिक

स्याङ्जा, १६ मंसिर । गर्भवती मात्र होइन, जोसुकै गम्भीर बिरामी भए पनि गाडीभन्दा डोको खोज्नतिर लाग्छन् शुक्लागण्डकी नगरपालिका–११ बाँसपानीका बासिन्दा ।

गाउँमा सुविधायुक्त अस्पताल छैन, झट्ट अन्त लैजान यातायातको पनि सुविधा नभएकाले यस्तो सास्ती हुने गरेको हो । गाउँमा अस्पताल नहुँदा धेरैपल्ट स्वास्थ्योपचारमा जोखिम बेहोरेकाहरू सोमबार भने खुसी देखिए । राईपुरको बिसौनामा सुविधासम्पन्न अस्पताल निर्माण हुने भनेपछि स्थानीय दंग परेका हुन् ।

‘गाउँमा सुत्केरी बेथाले च्यापे डोकामा बोकेर अस्पताल लग्नुपर्छ,’ बाँसपानीकी सरस्वती भट्टराईले भनिन्, ‘यस्तो गाउँमा अस्पताल बन्ने थाहा पाउँदा को खुसी नहोला ?’ यातायात सुविधा नहुने भएकाले बिरामीलाई डोकामा बोकेर दुलेगौंडा/स्याङ्जा लैजानुपर्ने स्थानीयको बाध्यता हो । भट्टराईले भनिन्, ‘अब बिरामी अस्पताल पुर्‍याउन डोकामा बोक्नु पर्दैन कि !’

सामान्य बिरामी भए पनि ठूलो रकम खर्चिएर स्याङ्जाको पुतलीबजार वा दुलेगौंडा हुँदै पोखरा जानुपर्ने बाध्यता अब अन्त्य हुनेमा स्थानीय विश्वस्त छन् । सोमबार अस्पताल शिलान्यास समारोहमा कोरोना संक्रमणको जोखिमलाई समेत ख्याल नगरी भेला भएका स्थानीयको भीडले पनि त्यही संकेत गर्थ्यो । घरदैलामै अस्पताल बन्ने भएपछि अब अकालमा कसैले पनि ज्यान गुमाउन नपर्नेमा विश्वस्त रहेको स्थानीय सरिता भट्टराईले बताइन् ।

‘हाम्रा दुःखपीडा हामीलाई मात्र थाहा छ, अब यहीं अस्पताल बन्छ भनेपछि निकै खुसी लागेको छ,’ उनले भनिन् ।

गण्डकी प्रदेश सांसद तथा पूर्वमन्त्री आशा कोइरालाले सोमबार राईपुरमा १५ शय्याको अस्पताल शिलान्यास गरिन् । पूर्वाधार विकासका हिसाबले पछाडि परेको राईपुरमा संघीय सरकारको लगानीमा अस्पताल निर्माण सुरु हुँदा खुसी लागेको उनको भनाइ थियो । अस्पताल निर्माणका लागि संघीय सरकारले १८ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

जिल्लामा सोमबार एकैसाथ ६ अस्पतालको शिलान्यास गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । हाल जिल्लाको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल र व्यास नगरपालिकास्थित दमौली अस्पतालले जिल्लाभित्रका बिरामीलाई सेवा दिँदै आएको छ । सरकारी अस्पताल भए पनि सेवा प्रवाहमा ढिलाइ हुने र अस्पतालमा आवश्यक औषधि नपाइने व्यास–२ की रेखा थापाले बताइन् ।

‘सरकारले निःशुल्क उपलब्ध गराउन भनेका औषधिहरू नै अस्पतालमा पाइँदैन । बिमा गरिएका बिरामीले निःशुल्क पाउने औषधि पनि छैन,’ उनले भनिन्, ‘मेडिकलमा गएर औषधि किन्नुपर्छ । अब गाउँमै अस्पताल सञ्चालन हुन लागेको छ, फेरि यस्तो समस्या नआओस् ।’ कान्तिपुर दैनिकमा सम्झना रसाइलीले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here