
बागलुङ, १५ मंसिर । एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान अन्तरगत जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास गरिएको छ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा आज अस्पतालको शिलान्यास गरिएको छ । ताराखोला र बरेङ गाउँपालिकामा ५ शैया, निसीखोलामा १० शैया र बडिगाड गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको हो । यस्तै बागलुङ नगरपालिकामा १५ शैया र तमानखोला गाउँपालिकामा ५ शैयाको अस्पतालको शिलन्यास हुन सकेन ।
बागलुङ नगरपालिका र तमानखोला गाउँपालिकामा शिलान्यास भएन
जिल्लाको बागलुङ नगरपालिका र तमानखोला गाउँपालिकामा भने अस्पतालको शिलान्यास गरिएन् । बागलुङ नगरपालिकामा वडा नम्बर ७ मुलपानी र वडा नम्बर १३ पैयुपाटामा कता बनाउने भन्ने विवाद आएपछि भवनको शिलान्यास नगरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै तमानखोला गाउँपालिकामा जग्गा व्यवस्थापनको विवाद हुँदा २२ गते शिलान्यास गर्ने योजना गरिएको नगरपालिकाले जनाएको छ ।









