म्याग्दीकी १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा

बागलुङ, ९ मंसिर । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी)ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।

बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन् ।

बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन् ।

“यो असाधारण वर्षमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान दिएका छन् । १०० महिलाको सूचीमा एक नाम श्रद्धाञ्जलिको रूपमा ती महिलाहरूको सम्झनामा खाली छोडिएको छ,” बीबीसीले भनेको छ ।

बीबीसीको यो वर्षको १०० प्रेरक तथा प्रभावशली महिलाको सूचीमा पर्ने नेपाली सपना लाश जलाउने प्राविधिक हुन् ।

बीबीसीका अनुसार तीन महिना घरवारविहीन भएपछि सपना काठमाडौं आएकी थिइन् । काठमाडौं आएपछि उनी यस्तो संस्थामा काम गर्न थालिन् जसले बेवारिसे लाशको व्यवस्थापन गर्थ्याे अथवा जलाउँथ्यो ।

“नेपालमा कोरोना भाइरस संक्रमण मर्नेको शव व्यवस्थापन कार्य पूर्णरूपमा नेपाली सेनाले हेर्छ । सपनाको संस्थाले सडकमा बेवारिसे अवस्थामा भेटिएका शवलाई अस्पताल पुर्‍याउने र त्यसको पोस्टमार्टम गर्ने व्यवस्था मिलाउँछ । यदि, यस्तो शव अस्पतालमा ३५ दिनसम्म कोही बुझ्न आएन भने उनको संस्थाले दागबत्ती दिएर शवको अन्तिम संस्कार (जलाउने) गर्छ । हिन्दू संस्कारअनुसार यस्तो कार्य प्रायः छोराहरूले गर्ने गर्छन्,” बीबीसीले भनेको छ ।

सपनाले यस्तो कार्य सामाजिक सेवाको लागिभन्दा पनि मानसिक शान्तिको लागि गर्ने गरेको बीबीसीलाई बताएकी छन् ।

“संसारभरि घरबारविहीन, घरबाट निकालिएका मानिसहरू छन् । मानिस जसको मृत्यु सडकमा हुन्छ उनीहरू अन्तिम संस्कारको हकदार हुन्छन् । म यो काम सामाजिक सेवाको रूपमाभन्दा पनि आफ्नै मानसिक शान्तिको लागि गर्दछु,” सपनाले भनेकी छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here