
असोज २७ बागलुङ । स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७६।०७७ को जिल्ला स्तरीय एकिकृत बार्षिक प्रगती समिक्षा सुरु गरेको छ । मंगलबार देखी जिल्लाका १० वटा स्थानिय तहमा गत आवमा भएको प्रगती विवरणको समिक्षा सुरु गरिएको हो ।
कार्यक्रमको उदघाट्न गर्दै गण्डकी प्रदेश सभा सदस्य सांसद इन्द्रलाल सापकोटाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्युनिकरणका लागि स्वास्थ्यकर्मीले खेलेको भुमिका निकै प्रशंसनिय रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुले महामारी नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानिय सरकारले ल्याएको रणनिति अनुसार व्यवस्थापन गरेको हुँदा आम सर्वसाधारणहरु धेरै त्रसित नभएको बताए ।
सापकोटाले जिल्लाको दुरदराजका आमनागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटेर सर्वसाधारणको जिवन रक्षाका लागि महत्वपुर्ण भुमिका खेल्ने स्वास्थ्यकर्मीलाई प्रदेश सरकारको तर्फबाट धन्यबाद प्रकट गरेका थिए । “चाडपर्व पनि नजिकिँदै आएको छ । कोरोनाको जोखिम उत्तिकै छ । सापकोटाले भने , ‘यो समयमा सर्वसाधारण आफै सचेत बन्न जरुर रहेको छ । आम नागरिकमा बाहिर हिँड्दा अनिवार्य स्वास्थ्यका मापदण्ड अपनाउन अझै हिचकिचवाट देखिन्छ पछि पछुताउनु भन्दा बेलैमा सचेत बन्न जरुर छ ।” उनले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका निम्ती गण्डकी प्रदेश सरकार सहयोग गर्न सधै तयार रहेको बताए ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगायतले अहिलेको परिश्थितिमा स्वास्थ्य क्षेत्र निकै संवेदनशिल रहेको हुँदा आम सर्वसाधारणहरु अझै सचेत हुनुपर्ने बताएका थिए ।
दुई दिन सम्म सच्चालन हुने समिक्षा कार्यक्रममा जिल्लाका सवै स्थानिय तहका बार्षिक गतिविधिका बारेमा छलफल गरिने स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । कार्यक्रममा सवै स्थानिय तहका स्वास्थ्य संयोजक, स्वास्थ्यशाखामा कार्यरत स्वास्थ्यकर्मी, र जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशिल गैहसरकारी संस्थाहरुको सहभागिता रहेको छ । कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी गराएका थिए ।
कार्यक्रम जिल्ला समन्वय समिति बागलुङ संयोजक राजेन्द्र ढुंगानाको अध्यक्षता स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको स्वागत र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।









