
बागलुङ, २६ असोज । प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन्।
‘विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइसकेको छ’, जिप्रकाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले भने। उनले फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने उल्लेख गरे। पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ । ‘जतिसुकै सानो भए पनि तोकिएको सजाय भोग्नैपर्छ, फरार प्रतिवादी आफै अदालतमा हाजिर भए प्रहरीले पक्रनै पर्दैन’, प्रनाउ रेग्मीले भने। न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरु पक्राउ पर्ने गरेका छन् । गत साता सरकारी छाप र कागजात दुरुपयोगको मुद्दामा ८३ वर्षीय फक्राउ परेका थिए ।
पक्राउ पर्नेमा अधिकांश सार्वजनिक मुद्दाका दोषी छन् । बाँकी लागुऔषध, सवारी ज्यान मुद्दा, कुटपिट, चोरीलगायतका घटनामा संलग्न रहेकाहरु छन् । प्रहरीले पक्राउ परेका फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि तत्कालै जिल्ला अदालतमा उपस्थित गराउने गरेको छ । रासस









