व्यवसायीलाई कोरोना देखिएपछि बागलुङ नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

बागलुङ, २५ असोज । बागलुङ बजार क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पहिचान भएपछि सावधानीका लागि बागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

नगरपालिकाले बजार क्षेत्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा व्यवसायिलाई कोरोना पुष्टि भएको कारण सोमबारदेखि लागु हुने गरी अनिश्चित कालिन सेवा प्रवाह बन्द गरेको हो ।

बागलुङ नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको हुँदा बढ्दो कोरोना जोखिमलाई ध्यानमा राखेर कार्यालयबाट प्रवाह हुने सेवा तथा कार्यक्रम संचालन स्थिगित गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।

नगरपालिकाले घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क सेनिटाईजरको प्रयोग गरी भौतिक दुरीको मापदण्ड गर्न अनुरोध गर्दै अत्यावश्यक बाहेकको कामले नगरपालिका कार्यालय प्रवेश नगर्न आग्रह गरिएको छ । नगरका १४ वटै वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह हुनेछैन ।

‘बजार क्षेत्रमा संक्रमण फैलिँदो छ’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भन्नुभयो–‘चाडपर्वले भिडभाड बढेको छ, सावधानी अपनाउन सकिएन भने अवस्था नियन्त्रण बाहिर जान्छ ।’ स्वास्थ्यकर्मीको परामर्श अनुसार सेवा प्रवाह रोकिएको उहाँले बताउनुभयो ।

यसैबीच, बागलुङ उद्योग वाणिज्य संघले उद्योग कलकारखाना, होटल रेष्टुरेन्ट, पसलहरुमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पलना गर्न आग्रह गरेको छ । चाडपर्वमा किनमेल गर्ने ग्राहको भिडभाड हुने र कोरोनाको संक्रमण जोखिम कायम रहेको उल्लेख गर्दै सावधानी अपनाउन अपिल गरेको महासचिव नरेश कँडेलले बताउनुभयो ।

बागलुङमा कुल ८ हजार ७२२ जनाको कोरोना परीक्षण गर्दा ५२५ जनालाई संक्रमण भएको थियो । ति मध्ये ३६७ जना निको भएका छन् । १ जनाको मृत्यु भएको थियो । हाल ८५ जना क्वारेन्टाईनमा छन् । सरकारले होमक्वारेन्टाईन तथा आईसोलेसनको अभ्यास गर्दा क्वारेन्टाईनमा बस्नेको संख्या कमी हुँदै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here