बागलुङ स्वास्थ्य सुरक्षासहित साधारण दैनिकीमा फर्किदै

बागलुङ, १५ असोज । कोरोना संक्रमण रोकथामको लागि सरकारले घोषण गरेको बन्दाबन्दी र जिल्ला तहमा घोषित निषेधाज्ञा खुले लगतै बागलुङ ६ महिना पछि साधारण दैनिकीमा फर्किन थालेको छ ।

शैक्षिक संस्था तथा सिनेमा हल बाहेक अन्य क्षेत्र औपाचरिक रुपमा खुला भएका छन् । लामो तथा छोटो दुरीका सार्वजनिक सवारी खुल लगतै सहरी क्षेत्रमा चहल पहल बृद्धि भएको हो ।

खुला भएका हरेक क्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको छ । असोज १ गतेदेखि सार्वजनिक सवारी खुले पछि जिल्ला प्रशासन, मालपोत, यातायात, राजश्व कार्यालय जस्ता बढी भिड हुने सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढ्न थालेको जिल्ला प्रशासन कार्यालय बागलुङका सुचना अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

‘बन्दाबन्दीको समयमा सवारी पास लिने सेवाग्राही बढी आउँथे’ उहाँले भन्नुभयो–‘यातायात खुले पछि राहदानी, नागरिकदा, नाता प्रमाणित लगायतका काममा आउने सेवाग्राहीको चाप बढ्न थालेको छ ।’ प्रशासनमा आउने सेवाग्राहीलाई कार्यालय हातभित्र छिर्दा मास्को अनिवार्य प्रयोग र साबुन पानीले हात धुने व्यवस्था गरिएको छ ।अन्य सरकारी कार्यालय, बैक तथा सहकारी लगायतका वित्तिय संस्थाले सेवा सुरु गरेका छन् ।

ग्रामिण क्षेत्रबाट बागलुङ बजारमा किनमेलको लागि आउने ग्राहकहरुको चाप बढ्दै गएको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलको भनाई छ । खाद्यन्न, फेन्सी, सुनचाँदी, कस्मेटिक, रेष्टुरेन्ट तथा खाजाघर लगायतका पसलमा ग्राहकहरुको चाप बृद्धि हुँदै गएको छ । बजारका सबै व्यवसायीलाई मास्क र सेनिटाईजरको प्रयोगलाई अनिवार्य गर्न आग्रह गरेको महासचिव कँडेलको भनाई छ ।

‘सुरक्षा सतर्कतासहित साधारण दैनिकीमा फर्कने अभ्यास गर्दैछौँ’ उहाँले भन्नुभयो–‘त्रासले होईन सतर्कतासहित जीवनुपर्ने अवस्था छ ।’ मालपोत कार्यालय बागलुङमा पनि बन्दाबन्दी अवधिभर थुप्रेर रहेका काम गर्न भ्याई नभ्याई छ । दैनिक एक सय बराबरको संख्यामा सेवाग्राही आउने गरेको मालपोत अधिकृत विष्णुप्रसाद शर्माको भनाई छ ।

‘विशेष गरी बैंक र सहकारीका सेवाग्राही बढी आउने गरेका छन’ मालपोत अधिकृत शर्माले भन्नुभयो–‘जग्गा रोक्का, फुकुवाकै काम बढी आउने गरेको छ । साधारण जग्गापास, नामसरीका काम छिटफुट आउने गरेका छन् । सेवाग्राहीलाई कार्यालय भित्र प्रवेश गर्दा मास्क र सेनिटाईजर अनिवार्य गरे पनि कार्यालय बाहिर साामजिक दुरी कठिन भएको उहाँले बताउनुभयो ।

बागलुङबाट लामो तथा छोटो दुरीका सवारी छुटन थाले पनि लामो दुरीको लागि यात्रु अभाव भएको बागलुङ नगरपालिका–१ का वडासदस्य तथा याताताय व्यवसायी सुर्य लामिछानेले बताउनुभयो । ‘यात्रा खुला गरेर मात्रा के गर्ने ? उहाँले भन्नुभयो–‘यात्रु पाउनै कठिन छ, कोरोनाको मनोवैज्ञानिक त्रास कायमै छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here