
बागलुङ, १४ असोज । बागलुङमा बुधबार कोरोना पुष्टि भएका नेपाली सेनाका जवानहरु बाढी पहिरो पीडितको उद्धारमा खटिने टोलीका रहेको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा महामारी फोकल पर्सन याम बरालले बुधबार कोरोना पुष्टि भएका ३६, ३३ र ३६ बर्षका तीन जना नेपाली सेनाका जवानहरु बाढी पहिरो पीडितको उद्धार र बेपत्ता भएकाहरुको खोजीमा खटिने टोलीका रहेको बताउनुभयो ।
‘आर्मिका क्याप्टेनसँग फोनसम्पर्क गर्दा संक्रमितहरु बाढी पहिरो पीडितहरुको उद्धारमा खटिने टोलीमा आवद्ध रहेको जानकारी प्राप्त भयो,’ महामारी फोकलपर्सन बरालले भन्नुभयो–‘संक्रमितहरु असोज ७ गते काठेखोला गाउँपालिका–२ भीमापोखरामा अविरल वर्षासँगै आएको बाढी पहिरोले गोठसहित मान्छे पुरेपछि उद्धारको लागि खटिएका थिए ।’
संक्रमित जवानहरुलाई कोरोनाको लक्षण ज्वरो, खोकी देखिएपछि धौलागिरी अस्पताल बागलुङबाट स्वाब संकलन गरि पिसिआर परीक्षण गरिएको थियो ।









