बानपा–१ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

बागलुङ, १ असोज । बागलुङ नगरपालिका वडा नम्बर १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तरगत बागलुङ नगरपालिकाले बिहिबार बानपा–१ मा सेवा केन्द्र स्थापना गरि संचालनमा ल्याएको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले गर्नुभएको थियो ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ मा नै समुदाय स्तरमा आधारभूत स्वास्थ्यको पहुँच विस्तारको कार्यक्रम ल्याएसँगै गत चैतमै कर्मचारी भर्ना गरिएपनि कोरोना महामारीको कारण अहिले कार्यालयको स्थापना गरिएको नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

नगरप्रमुख जनकराज पौडेलले हिजो अस्पतालबाट हुने सेवाहरुको लागि अब वडामै हुने भएकोले नागरिकहरुले चाडो स्वास्थ्य सुविधा पाउने बताउनुभयो । ‘अस्पतालबाट हुने आधारभूत स्वास्थ्य सेवाहरु अब आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट हुन्छ,’ नगरप्रमुख पोडेलले भन्नुभयो–‘अब सामान्य उपचारको लागि अस्पताल गैराख्नुपर्दैन् ।’

बानपा–१ को वडा कार्यालयको भवनको पहिलो तलामा स्वास्थ्य सेवा केन्द्रको कार्यालय राखिएको छ । ‘आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको लागि रकम उपलब्ध भएको छ,’ नगरप्रमुख पौडेलले भन्नुभयो–‘वडा भित्र जग्गाको व्यवस्थापन हुँदै गरेकोले चाडै आफ्नै भवन निर्माण गरिने छ ।’

कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डापाणी शर्माले बागलुङ नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिन लागेको बताउनुभयो । उहाँले पहिलो चरणमा बानपा–१ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको उद्घाटन गरिएको बताउँदै अन्य दुई ओटा वडाको क्रमश गरिने बताउनुभयो । उहाँले सवै केन्द्रको लागि गत चैत महिनामा कर्मचारी भर्ना गरिएको बताउनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले कोरोनाले गर्दा कर्मचारी राखिएपनि सेवा सुरु ढिलो भएको बताउँदै कर्मचारीलाई कोरोना न्यूनिकरणको लागि हेल्थ डेक्स, क्वारेन्टाइन र आइसोलेसन कक्षमा परिचालन गरिएको बताउनुयभयो ।

बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट गर्भवती जाँच, स्वास्थ्य स्वयंसेविकाले दिने सेवा, सामान्य बिरामी जाँच तथा औषधि उपचार लगायतका आधारभुत स्वास्थ्य सेवा र ४३ ओटा औषधिहरु निशुल्क वितरण हुने बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले एक जना प्यारामेडिक्स र एक जना नर्सिङ स्टाफ राखेर सेवा सञ्चालनमा ल्याईएको बताउनुभयो ।

 

बागलुङ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दुर्गा बहादुर बोहोराको अध्यक्षतामा सम्पन्न भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहको स्वागत बागलुङ नगरपालिका नगर कार्यपालिका सदस्य लक्ष्मी बोहोरा, संचालन बागलुङ नगरपालिकाका सि.अ.हे.व. डिल्लीप्रसाद आचार्यले गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here