
बागलुङ, २९ भदौ । बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटमा पहिरोले बस्ती बगाउँदा एक पुरुष बेपत्ता हुनुभएको छ । पाँच घर पूर्ण रुपमा क्षती भएका छन् ।
अविरल वर्षाको कारण सोमबार विहान साढे ६ बजेको समयमा बस्तीमाथि रहेको सडकबाट झरेको पहिरो घर भत्किँदा स्थानीय ६८ बर्षिय हरिकृष्ण शर्मा बेपत्ता हुनुभएको हो ।
पहिरोले टुनीबोटका देवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री, तारादेवी क्षेत्री, र बेपत्ता हरिकृष्ण शर्माको घर पूर्ण क्षेति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।
आईतबार विहान पनि सोही ठाउँमा पहिरोले मणीभद्र पाध्याको घर भत्किँदा स्थानीय ६५ बर्षिय लक्ष्मीदेवी पाध्याको मृत्यु भएको थियो ।
घटना स्थलमा नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी कार्य सुरु गरेको जैमिनी नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।









