
बागलुङ, २२ भदौ ।
बागलुङ नगरपालिकाले धौलागिरी फोहोर तथा वातावरण सहकारी संस्थासंग गरेको सम्झौता रद्ध गरेकोमा उपप्रमुख सुरेन्द्र खड्काले असन्तुष्टि जनाएका छन् ।
उपप्रमुख खड्को आईतबार पत्रकार सम्मेलन गरि बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि नगरपालिका र धौलागिरि फोहोर तथा वातावरण सहकारी संस्थाबीचको सम्झौता नगरप्रमुखले एकपक्षीय रूपमा तोडेको आरोप लगाए ।
गत साउन ३२ गतेको नगरकार्यपालिका बैठकले सहकारीसंगको फोहोर व्यवस्थापन सम्झौता तोड्ने निर्णय गरेको थियो । उक्त निर्णयमा उपप्रमुख खड्काको नोट अफ डिसेन्ट थियो ।
नगर उपप्रमुख खड्काले जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएदेखि नै बागलुङ बजारको फोहोर व्यवस्थापन विषयमा सहकारीसँगको सम्झौतामा भएका निर्णयहरुको पुर्नविचार गर्नुपर्ने भन्दै कुरा उठाएपनि वेवास्ता गर्दै आएकोमा अब दुई बर्ष मात्र कार्यकाल हुँदा एकाएक सम्झौता तोडिनु आश्चार्य भएको बताए । उनले निर्वाचित भएको तीन वर्षसम्म वेवास्ता गर्ने र अब दुई बर्ष बाँकी रहँदा कायापलट गर्ने जसरी नगरप्रमुखले एकपक्षीय रुपमा सम्झौता तोड्नुमा कुन अदृश्य शक्तिको हात छ मलाई थाहा भएन ।
खड्काले कार्यपालिका बैठकबाट आफ्नो संयोजकत्वमा वडा नम्बर १, २, ३ र ४ का वडाध्यक्ष समावेश भएको फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरिएकोमा आफुहरुले तयार गरेर दिएको प्रतिवेदनबारे कार्यपालिकामा कुनै छलफल नै नगरी एकाएक सम्झौता भङ्ग गरिएको बताए । नगरउपप्रमुख खड्काले सहकारीसँगको सम्झौता भंग गर्ने छलफलमा आफुले असहमति जनाएको र नगरप्रमुख ज्यूले २४ घण्टा भित्र नोट अफ डिसेन्ट लेख्न भनेको बताउँदै कार्यपालिकाको बैठकको तीन पछि मात्र निर्णय लेख्न हुने मैले २४ घण्टा भित्र नोट अफ डिसेन्ट लेख्नुपर्ने भन्दै आक्रोश पोखे ।
उनले नगरपालिका विधि र कानुनी प्रक्रिया अनुसार नचलेको आरोप लगाए । नगरप्रमुखलाई मुखियाको संज्ञा दिदै खड्काले नगरप्रमुख पौडेल मनोमानी र एकलौटी रुपमा चल्ने गरेको बताउँदै नगरपालिका कार्यालयमा एउटा कुरा पनि विधिसम्मत नभएको बताए । ‘बरु गाउँको एउटा क्लब र एनजिओ नीति नियममा चल्ला तर बागलुङ नगरपालिका चलेको छैन,’ नगरउपप्रमुख खड्काले भने ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख खड्काले सहकारीसँगको सम्झौता अनुसार गाडी विग्रदा समेत सस्तोमा मर्मत गरेको विल पास नहुने र आफुहरुले भनेको स्थानमा मर्मत गरि महंगो विल पास गर्ने गरेको समेत आरोप लगाए । उनले कर्मचारी मात्र नभई जनप्रतिनिधि समेत कमिसनमा लागेको आरोप लगाए ।
उपप्रमुख खड्काले अन्य वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरु समेत सहकारीसँगको सम्झौता रद्ध गर्ने विषयमा असन्तुष्टि जाहेर गरे पनि बाहिर खुलेर भन्न नसकेको बताए । उनले सम्झौता रद्ध गर्ने कार्यपालिकाको निर्णयलाई पुर्नविचार गरि सहकारीसँग छलफल गरि नयाँ सम्झौता गर्नुपर्ने बताए ।
बागलुङ नगरपालिकाले भने सहकारीले सम्झौता अनुसार बजारबाट फोहोर संकलन नगरेको भन्दै सम्झौता रद्ध गरेको जनाएको छ । लकडाउनको बेलामा सहकारीले फोहोर नउठाएकोले नगरपालिकाले ट्याक्टर भाडामा ल्याएर आफै उठाएको थियो । उक्त समयमा नगरपालिकाले सहकारीलाई स्पष्टिकरण सोधेको र जवाफ चित्त बुझदो नभएको भन्दै कमजोरीहरु सच्चाउनको लागि तीन महिनाको समयअवधि दिएपनि नसच्चिएकोले सम्झौता रद्ध भएको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले बताए ।










