
बागलुङ, १६ भदौ ।
गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले १४ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सहकारीले मंगलबार स्थापना दिवसको अवसरमा काठेखोला गाउँपालिका–२ भीमापोखराको भीमापोखरा स्वास्थ्य चौकीलाई ८ हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष खिमबहादुर कार्कीले जानकारी दिनुभयो ।
सहकारीले स्वास्थ्य चौकी भवनमा के एन ९५ मास्क, सेनिटाइजर र साबुन गरि ८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री संस्थाका अध्यक्ष खिम बहादुर कार्की र सल्लाहकार चन्द्रमणि उपाध्यायले स्वास्थ्य चौकीकी अहेब बिनु थापालाई हस्तान्तरण गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष कार्कीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि स्वास्थ्य कार्यालयलाई सामाग्री सहयोग गरेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी र स्वास्थ्य चौकीमा आउने सेवा ग्राहीलाई सहयोग पु¥याउने उद्देश्यले उक्त सामाग्री स्वास्थ्य चौकीलाई वितरण गरेको बताउनुभयो ।
गुहेली सञ्चार सहकारी संस्था लिमिटेड २०६४ सालमा साविकको भीमापोखरा गाविस (हाल काठेखोला गाउँपालिका–२ भीमापोखरा)मा मुख्य कार्यालय राखि स्थापना भएको थियो । ग्रामिण क्षेत्रमा सञ्चारको माध्यमबाट सूचना प्रवाह गर्ने उद्देश्यले भीमापोखराका युवाहरुद्वारा स्थापना भएको सहकारीले हाल बागलुङ बजारमा सेवा कार्यालयको स्थापना गरि काम गरिरहेको छ ।
सहकारीले हाल जननिगरानी साप्ताहिक पत्रिका र खबरवे अनलाईन संचालन गर्दै आएको छभने मुख्य कार्यालय काठेखोला गाउँपालिका–२ भीमापोखराबाट मासिक कारोबार तथा सेवा कार्यालय बागलुङ बजारबाट दैनिक कारोबार गर्दै आएको छ ।









