
अर्जुन कार्की
बागलुङ, १४ भदौ ।
बागलुङमा सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको लियो क्लब अफ बागलुङ कालिकाले आईतबारदेखि ‘सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔं’ हातेमालो अभियान सुरु गरेको छ ।
कोरोना महामारीको कारण देश लकडाउन हुँदा मर्कामा परेका दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई लक्षित गरी हातेमालो अभियान ‘फुड बैंक’ सञ्चालन गरेको क्लबका अध्यक्ष सन्देश बोगटीले जानकारी दिए । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि अहिले बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । ‘निषेधाज्ञाको समयमा दैनिक मजदुरी गरि विहान बेलुका गुजारा चलाउनेहरु गाह्रो परेको छ,’ क्लबका अध्यक्ष बोगटीले भने–‘अहिले हुनेले नहुनेहरुलाई सहयोग गर्ने बेला हो । त्यसैले सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔं भन्दै हातेमालो अभियान सुरु गरिएको हो ।’
क्लबले नेतृत्व गरि बागलुङ नगरपालिका–२ जीपपार्कमा सुरु गरिएको उक्त अभियानमा पहिलो दिन कंडेल सप्लायर्सले आवश्यक खाद्यान्न सहयोग गरेको क्लबका सचिव जनक सापकोटाले जानकारी दिए । खुसीको प्याक नाम राखेर वितरण गरिएको खाद्यान्नको प्याकेटमा ३ केजी चामल, १ केजी नुन, १ पोका तेल र आधा केजी दाल रहेको सचिव सापकोटाले बताए ।
कोरोना महामारीको बेला कोहि पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले संचालन गरिएको उक्त अभियानमा सवैको साथ रहनेमा क्लब विश्वस्त रहेको क्लबका अध्यक्ष बोगटीले बताए । उनले पहिलो दिन ५० ओटा खुसीको प्याकबाट अभियान सुरु गरेको जानकारी दिए ।
खाद्यान्न लिन आउँदा मास्क नलगाइ आउनेहरुलाई क्लबले मास्क समेत दिने गरेको छ । कोरोनाबाट सवै सुरक्षित हुनुपर्ने भएकाले खाद्यान्न सहित मास्क नलगाइ खाद्यान्न लिन आउने मजदुर र विपन्न परिवारलाई मास्क पनि वितरण गरिएको अध्यक्ष बोगटीले बताए । उनले स्वास्थ्य सुरक्षा अपनाएर खाद्यान्न संकलन र सहयोग गरिरहेको जानकारी दिए ।
क्लबले आर्थिक तथा खाद्यान्न सहयोग गर्नको लागि सहयोग आव्हान समेत गरेको छ । क्लबले मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न चाहनेहरुले सहयोग गर्न सक्ने र आवश्यक परेकाले लैजान सक्ने बताए । क्लबले खाद्यान्न वितरण गर्दा उनीहरुको नामावली टिपोर्ट गरि परिवारको अवस्थाको बारेमा जानकारी लिएर सहयोग गरिरहेको छ । ‘हामीले सहयोग गर्नेहरु र राहत लैजानेहरुको नामावली संकलन गरेका छौं,’ अध्यक्ष बोगटीले भने–‘खाद्यान्न वितरण गर्दा पारिवारिक अवस्था हेरेर मात्र सहयोग गरिएको छ ।’











