
नवीन शिशिर विक
बागलुङ, १३ भदौ ।
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गोजस्तो विषालु साग दिने एक व्यक्तिले आत्महत्या गरेका छन् ।
छिमेकीलाई जरिङ्गोको सागजस्तै हरियो तरकारी दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले शनिबार आत्महत्या गर्नुभएको हो । विकले दिएको साग खाएर बिहीबार बिहान रिजालचोकका ७१ वर्षीय देउरुपा कँडेल, उहाँकी बुहारी ३७ वर्षीय चिजा कँडेल, छोरा ३७ वर्षीय चुडामणी कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल बिरामी पर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसीका अनुसार विकले पनि सोही साग खानुभएको थियो । ‘सायद विषालु साग खाँदा उहाँलाई मानसिक रुपमा असर परेको हुन सक्छ’ उहाँले भन्नुभयो, ‘यसअघिका बिरामीहरूमा पनि मानसिक रुपमा असर देखिएको थियो ।
विकको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ । साग खाएपछि बेहोस भएका चार जनाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिरामीका दाजु गणेश कँडेलका अनुसार चुडामणी कँडेलको आइसियुमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् । विषालु साग खाएकाहरूमा बेहोसी, मानसिक अस्थिरता र मुटुको चाल पनि छिटो–छिटो हुने जस्ता समस्या देखिएको थियो ।









