नेपालमा कोरोना खोप परीक्षणको तयारी

काठमाडौं, १२ भदौ ।
विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १-५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ ।

खोपको परीक्षण गर्न दिन हुने/नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । उनका अनुसार परिषद्ले यसको विश्लेषण गरिरहेको छ ।

मन्त्रालयका अनुसार ३ कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको उनले बताए ।

डब्लूूएचओको सूचीमा नरहेको र बाहिर कुनै जर्नलमा समेत प्रकाशित नगरिएको रसियाले उत्पादन गरेको ‘स्पुतनिक भी’ नामको खोप नेपालमा परीक्षण गर्ने सवालमा थप अध्ययन भइरहेको ज्ञवालीले बताए ।

त्यो विवरण आएपछि मात्र नेपालमा परीक्षण गर्ने नगर्ने भन्ने बारेमा परिषद् र सरकारले निर्णय गर्नेछ । उनका अनुसार भारतले पनि खोप निर्माण गरिरहेकाले उसले पनि अन्तिम परीक्षणका लागि नेपाललाई दिने कुरा गरेको छ । विश्व स्तरमा निर्माण भएका कुन कुन खोपको अन्तिम परीक्षण नेपालमा गर्न दिन योग्य छ भन्ने सवालमा शुक्रबार परिषद्ले विज्ञसहित बृहत् छलफल गर्दैछ ।

जनस्वास्थ्यलाई असर पर्ने गरी कुनै पनि खोपको परीक्षण नेपालमा नहुने दाबी उनले गरे । उनका अनुसार चीनले सिधै नेपाल सरकारलाई परीक्षणका लागि प्रस्ताव गरेको हो । उसले ५ सय जनामा खोपको परीक्षण गर्न दिन मागसहितको प्रस्ताव पठाएको छ । चीनले निर्माण गरेको खोप फिलिपिन्स, इन्डोनेसिया, ब्राजिल र पाकिस्तानमा समेत अन्तिम परीक्षण अगाडि बढाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोपको परीक्षणमा सहभागी हुन चाहने देशको लाम पनि निकै लामो छ । यसरी अन्तिम परीक्षणमा सहभागी हुने मुलुकले भविष्यमा खोप तयार भएर आएपछि विभिन्न खालका सुविधा र सहुलियत पाउने अवस्था रहन्छ । सोही अनुसार नेपालले पनि विश्वसनीय खोपको अन्तिम परीक्षणमा सहभागी हुनेछ ।

६ खोप अन्तिम चरणमा
डब्लूूएचओका अनुसार परीक्षणको अन्तिम तथा तेस्रो चरणमा यतिबेला ६ वटा खोप पुगेको छ । सबै खोपको अन्तिम परीक्षणका लागि एक प्रकारले प्रतिस्पर्धा नै छ । पहिलो नम्बरमा अक्सफोर्ड युनिभर्सिटीको मातहत रहेर एस्ट्राजेनाका कम्पनीले निर्माण गरेको खोप छ । दोस्रोमा चीनको साइनोेभ्याक कम्पनीले उत्पादन गरेको खोप, तेस्रोमा चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकलको मातहत रहेर सिनोफार्मले उत्पादन गरेको खोप रहेको छ ।

त्यस्तै, चौथो नम्बरमा सिनो फार्मले बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट मातहत उत्पादन गरेको खोप, पाँचौँ नम्बरमा मोडेर्ना तथा निएडको संयुक्त उत्पादनको खोप र छैटौँ नम्बरमा बायोएनटेक तथा फोसन फर्मा र पिटजर कम्पनीले उत्पादन गरेको खोप तेस्रो तथा अन्तिम क्लिनिकल परीक्षणका क्रममा रहेको छ । गोरखापत्र दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here