
बागलुङ, २ भदौ ।
बागलुङ नगरपालिकाले भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको अध्यक्षतामा मंगलबार विहान बसेको विपद व्यवस्थापन समितिको बैठकले आज राती १२ बजेदेखि लागु हुने गरि भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । बैठकले लकडाउनलाई स्विकृत गर्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई सिफारिस गरेको छ ।
नगरपालिकाले बागलुङ बजारमा व्यवसायीहरुलाई समेत कोरोना संक्रमण देखिन थालेपछि १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले नगरपालिकाको कार्यालयबाट समेत अत्यावश्यक काम बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताउनुभयो ।
गाउँबाट आउने सवारी साधनहरुलाई समेत अत्यावश्यक काम बाहेक नगरपालिका प्रवेशमा रोक लगाउने निर्णय गरेको बागलुङ नगरपालिका–२ का वडाअध्यक्ष जीवन आचार्यले जानकारी दिनुभयो । उहाँले नगरपालिका भित्र रहेका बैंक र वित्तिय संस्थाहरुले सिमित कर्मचारी राखेर कार्यालयबाट सुरक्षितका साथ सेवा प्रवाह गर्न अनुरोध गरेको बताउनुभयो ।
यस्तै जिल्लामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र व्यवसायीहरुलाई संक्रमण देखिएपछि कसरी अगाडी बढ्ने बारेमा आज दिउँसो १ बजे जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक आव्हान गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । उहाँले बागलुङ नगरपालिकाले लकडाउनको लागि स्विकृति माग गरेकोले त्यसको बारेमा पनि निर्णय हुने बताउनुभयो ।









