
बागलुङ, २७ साउन ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै धौलागिरी अस्पताल बागलुङमा इमरजेन्सी सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत थप दुई जना स्वास्थ्यकर्मीलाई सोमबार कोरोना संक्रमण देखिएपछि आज (मंगलबार) विज्ञप्ती प्रकाशित गरेर आकस्मीक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको अस्पतालले जनाएको छ ।
सोमबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा अस्पतालका एक जना ३९ बर्षिय पुरुष र एक जना २२ बर्षिय महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले संक्रमित स्वास्थ्यकर्मीहरु अस्पतालका प्यारामेडिक्स (एचए) र स्टाफ नर्स रहेको जनाएको छ ।
साउन २० गते धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका र अस्पतालमा कार्यरत ३२ जना डाक्टर र कर्मचारीहरुको पिसिआर परीक्षण गर्दा एक जना स्वास्थ्यकर्मीलाई र अस्पतालकै आइसोलेसनमा कार्यरत एक जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको अस्पतालका निमित्त प्रमुख मेडिकल डा. शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिए ।
डा. पोखरेललेका अनुसार सोमबार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्प्तालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको नमुना संकलन गरी कोभिड–१९ परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मको लागि आकस्मीक बाहेकका अन्य सेवाहरु बन्द गरिएको बताए । यस अगाडी साउन २० स्वास्थ्यकर्मीलाई भाइरस संक्रमण देखिएपछि ओपिडि सेवा बन्द गरिएको थियो ।
यस्तै अति आवश्यक बाहेक अस्पतालमा नआउन डा. पोखरेलले अनुरोध गर्नुभएको छ ।
सोमबार संक्रमण पुष्टि भएका दुई जना स्वास्थ्यकर्मीलाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । बागलुङमा यस अगाडी आइसोलेसनमा कायरत एक महिला स्वास्थ्यकर्मी र जैमिनी नगरपालिकाका एक जना पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । जैमिनी नगरपालिकाका पुरुष स्वास्थ्यकर्मी निको भएर घर फर्किसकेका छन्भने महिला स्वास्थ्यकर्मी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत रहेकी छिन् ।










