
बागलुङ, २६ साउन ।
धौलागिरी अस्पताल बागलुङमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा अस्पतालका एक पुरुष र एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका ३९ बर्षिय पुरुष स्वास्थ्यकर्मी र २२ बर्षिय महिला स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो । पुरुष स्वास्थ्यकर्मी धौलागिरी अस्पतालका प्यारामेडिक्स (एचए) हुनभने एक जना स्टाफ नर्स हुन् ।
धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई साउन २० गते कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका र अस्पतालमा कार्यरत गरी ३२ जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गर्दा २ जनालाई संक्रमण देखिएको डा. पोखरेलले बताउनुभयो । उहाँले आज संक्रमण देखिएका मध्य एक जना पहिले संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका र एक जना अस्पतालमै कार्यरत रहेकोले उनको सम्पर्कमा नआएको बताउनुभयो ।
संक्रमित दुवै जनालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।









