
बागलुङ, १८ साउन ।
धौलागिरी अस्पताल बागलुङको भवन निर्माण गर्न आएका एक जना कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा शनिबार गरिएको पिसिआर परीक्षणमा महोत्तरीबाट कामको लागि बागलुङ आएका २५ बर्षिय एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
महोत्तरीबाट लकडाउन खुल्ला भएपछि अस्पतालको सि ब्लक भवन निर्माणका लागि आएका १८ जना कामदार मध्य एक जनालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । ‘साउन १३ गते भवन निर्माणका लागि आएका १८ जना कामदारलाई सोहि भवनमा राखिएको थियो’ सूचना अधिकारी गौतमले भन्नुभयो–‘बाहिरी जिल्लाबाट आएको कारण पिसिआर परीक्षण गर्दा २५ बर्षिय एक पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।’
संक्रमित युवालाई धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा राखिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
कोरोनाको कारण सरकारले जारी गरेको लकडाउनको बेला काम गर्न नसक्ने भन्दै घर फर्किएका कामदारहरु लकडाउन खुल्ला भएपछि काम गर्नको लागि सवै महोतरीबाटै आएका थिए । लकडाउन खुल्ला भएपनि कोरोना संक्रमणको जोखिम बढिरहेकोले उनीहरुलाई अस्पतालको सि ब्लकमै राखेर १३ गतेनै स्वाब संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको थियो ।
१८ जना नै सँगै आएको र सँगै बसेको कारण १७ जनाको नेगेटिभ रिपोर्ट आएपनि पुनः पिसिआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।









