सदस्य सचिवको लागि बागलुङका थापा सहित तीन जनाको नाम सिफारिस

बागलुङ, ७ साउन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि सिफारिस समितिले बागलुङका लिलबहादुर थापा सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले बुधबार सदस्य सचिवको लागि थापा सहित रमेश कुमार सिलवाल र अञ्जु श्रेष्ठको नाम युवा तथा खेकुदल मन्त्री समक्ष सिफारिस गरेको हो ।

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष हुन् । यता महिला सदस्यबाट सिफारिस भएका अन्जु राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन् ।

सिफारिस समितिले बुधबारमात्रै तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । समितिले वणानुक्रम अनुसार अन्जु श्रेष्ठ, रमेश कुमार सिलवाल र लिल बहादुर थापा मगरलाई सिफारिस गरेको हो ।

समितिले ६ पटकसम्म बैठक बसेर तीन जनाको नाम सिफारिस गरेको हो । तीनै जनाको नाम आज मात्रै मन्त्री समक्ष पुगेको छ ।

अब बस्ने मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई राखेप सदस्य सचिवमा नियुक्ति गर्नेछ । सदस्य सचिवका लागि ३ महिलासहित २७ जनाले आवेदन दिएका थिए । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलिया संयोजकत्वमा रहेको सिफरिस समितिमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेका थिए ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here