बागलुङका फुटबल खेलाडी र रेफ्रिलाई राहत वितरण

बागलुङ, ७ साउन ।
जिल्ला फुटबल संघ बागलुङले कोरोना भाइरसबाट प्रभावित जिल्लाका फुटबल खेलाडी र रेफ्रिहरुलाई राहत वितरण गरेको छ ।

संघले बुधबार १५ जना फुटबल खेलाडी र ४ जना रेफ्रि गरी १९ जनालाई राहत वितरण गरेको हो । संघले १२ जना फुटबल खेलाडी र ४ जना रेफ्रिलाई जनही चार हजार र प्रशिक्षणको क्रममा घाईते भएका एक जना फुटबल खेलाडीलाई ३ हजार रुपैयाँँ प्रदान गरिएको कोषाध्यक्ष सर्य लामिछाने क्षेत्रीले जानकारी दिनुभयो ।

उनीहरुलाई गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

राहत पाउनेमा ए डिभिजन र वि डिभिजन लिग खेलेका २/२ जना सहित जिल्लाबाट फुटबल खेल्दै आएका ११ जना पुरुष खेलाडी र ४ जना महिला खेलाडीहरु रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको ७५ हजारबाट खेलाडीलाई राहत दिईएको संघका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो । गत महिना एन्फाले आफ्ना सदस्य संघलाई ७५ हजार उपलब्ध गराएको थियो ।

 

राहत रकम वितरणपछि बोल्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले कोरोना महामारीबाट प्रभावित भएका खेलाडीहरुलाई संघले राहत प्रदान गर्नु राम्रो काम भएको बताउनुभयो । उहाँले खेलाडी र संघको भावनात्मक सम्बन्ध कार्यम राख्नको लागि राहतले सहयोग पुग्ने बताउनुभयो ।

नेकपा बागलुङका अध्यक्ष समेत रहनुभएका सापकोटाले खेलबाट केहि गर्छु भनेर लाग्ने खेलाडीहरुले धेरै राम्रो गरेको बताउँदै अहिले देशमा खेलकुदको माहोल रहेको र सरकारले खेल क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।

यस्तै जिल्ला खेलकुद विकास समिति बागलुङका निर्वतमान अध्यक्ष धनबहादुर परियारले अहिले कोरोनाले धेरैलाई मनोबैज्ञानिक असर पारेको बताउँदै अहिलेको अवस्थामा भावनात्मक सम्बन्ध कायम गर्न खेल क्षेत्र अगाडी बढ्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले कोरोना महामारीमा प्रभावित भएका खेलाडीहरुलाई राहतले खेल जीवन र पारिवारिक जीवनमा सहयोग हुने र खेलाडीहरुलाई संस्थाको अपनत्व हुने बताउनुभयो ।

जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले यसलाई राहत नभइ सहयोगको रुपमा बुझ्नुपर्ने बताउँदै खेलाडीहरुलाई सहयोगको लागि संघ र आफु सधै तयार रहेको बताउनुभयो । उहाँले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले खेलहरु संचालन नभएको र आम्दानीका श्रोत ठप्प भएपछि सामान्य दैनिकी गुजारा गर्न पनि नसकेका खेलाडीहरुलाई सहयोग गरिएको बताउनुभयो ।

संघका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कोभिड–१९ राहत वितरण कार्यक्रमको स्वागत उपाध्यक्ष टकबहादुर बोहोरा र संचालन उपाध्यक्ष एवं राहत वितरण खेलाडी छनोट समितिका संयोजक रेशम गोतामेले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here