
बागलुङ, ६ साउन ।
बागलुङ नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि २६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकाका एक उच्च पदस्थ कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट इरर आएपछि नगरपालिकाका २७ जना कर्मचारी र १ जना जनप्रतिनिधिको कोरोना परीक्षणको लागि स्वाब संकलन गरि पोखरा पठाइएको थियो ।
असार मसान्तमा काम सम्पन्न गरिसकेपछि कर्मचारीहरुको पहिलो चरणमा कोरोना परीक्षण गर्ने क्रममा एक जना कर्मचारीको रिपोर्ट इरर आएकोले उनीसँग सम्पर्कमा रहेका सवैको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाइएको थियो ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले मंगलबार दिसँसो २ बजेसम्म नगरपालिकाका २५ जना कर्मचारी र १ जना जनप्रतिनिधिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको र २ जनाको रिपोर्ट आउँन बाँकी रहेको बताउनुभयो । प्रमुख खनालले पहिलो परीक्षणमा इरर आएका उच्च पदस्थ कर्मचारीको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।
प्रमुख खनालले कहिलेकाही परीक्षणमा समस्या देखिएपछि रिपोर्ट इरर आउने गरेको बताउनुभयो । इरर आएको व्यक्तिको पुनः स्वाब संकलन गरि परीक्षण गरिन्छ ।
यस्तै नगरपालिकाका कर्मचारीको रिपोर्ट इरर आएपछि नगरपालिका शिल गरिएको भन्ने कुरा बजार हल्ला रहेको प्रमुख खनालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जो कोहिको पनि स्वाब संकलन गरि परिक्षणको लागि पठाउँदा विशेष सतर्कता अपनाइने गरिन्छ त्यसै अनुसार कार्यालय शिल नगरि विशेष सतर्कता अपनाइएको मात्र हो ।’
सच्चाइएको: बागलुङ नगरपालिकाका २८ जना कर्मचारीको स्वाब संकलन गरिएको र २६ जनाको नेगेटिभ रिपोर्ट आएको र २ जनाको रिपोर्ट आउन बाँकी हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ ।
–सम्पादक









