
म्याग्दी, ६ साउन ।
लगातार वर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि उत्तरी क्षेत्रमा ब्यापक क्षती पुगेको छ ।
सोमबार दिउँसो एक्कासी नदीको बाहब बढेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र वडा नं ४ नारच्याङको गार्डपाक जोड्ने झोलुङे पुल बगाएको छ भने ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको ११ नं पिल्लरमा ब्यापक क्षती पुगेको छ । त्यस्तै दानाको लाटाखोलाले स्थानीय रमेश बुढाथोकीको एक तले घर बगाएको छ भने कालिगण्डकी करिडोर अन्तरग प्रशारण लाइनमा समेत क्षती पुगेको स्थानीय इन्द्रसिंङ शेरचनले जानकारी दिनुभयो । दाना काभ्रेको कानीखोलाले बगाएर स्थानीय ६५ बर्षिय बलबहादुर गर्बुजा बेपत्ता भएका छन् । त्यस्तै रुप्से झरनाको कटानले एक होटल बगाएको छ, त्यही नजिकै भएको बस, स्काभेटर समेत लगेको छ ।
बेनीजोमसोम सडकखण्ड अन्तरगत बेनी–जोमसोम सडकखण्डको भुरुङतातोपानी लगायतका स्थानमा सडक नै कटान गरेको छ । सडकखण्डमा कालिगण्डकी बगेको छ । बेनीजोमसोम सडकखण्ड तत्काल सञ्चालनमा नआउने गरी ठाउँठाउँमा ध्वस्त बनाएको छ ।
यता पर्वतको जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिर नदीले कटान गरेसँगै उच्च जोखिममा परेको छ । मन्दिर आसपासका क्षेत्रमा समेत कटान सुरु गरेपछि त्यहाँ रहेका ७ जनालाई म्याग्दीको गलेश्वर मन्दिरको अन्न क्षेत्रमा स्थानान्तर गरिएको छ भने पशुचौपायालाई बगरफाँटमा सारिएको छ । उत्तरी क्षेत्रबाट कालिगण्डकीको कटानको जोखिम र क्षतीको बिवरण आउने क्रम जारी छ ।









