भीमादरबारको पर्खाल भत्कियो

बागलुङ, १ साउन ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको ऐतिहासिक भीमादरबार भत्किएको छ ।

गयरातीदेखि परेको अविरल पानीले दरबारको गेटको पूर्वपट्टीको ५ मिटर पर्खाल भत्किएको स्थानिय सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

नेपाल एकीकरण हुनुपूर्व बाइसे चौबिसे राज्यमध्ये भीमापोखरा राज्य थियो । उक्त समयमा राज्य गर्दै आएका राजा बस्ने दरबारको भग्नावशेषको संरक्षण र प्रबद्र्धन नहुँदा कैयौं संरचना हराएर गएको छ ।

यसअघि साविकको भीमापोखरा गाउँ विकास समितिले दरबारको संरक्षणका लागि केही रकम विनियोजन गरेर तारबार र पर्खाल लगाउने काम गरेको थियो । उक्त पर्खाल अविरल वर्षाको कारण भत्किएको स्थानिय थापाले जानकारी दिनुभयो ।

पर्यटकीय र ऐतिहासिक अध्ययन गर्नका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने यो दरबार संरक्षणको पर्खाइमा रहँदै आएको छ । भग्नावशेषको रूपमा मात्र रहेको यो दरबारको संरक्षण र यसको इतिहास खोजी गर्नसकेमा धेरैको आर्कषणको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ ।

भीमपोखराको भीमारानी दरबारको संरक्षण र प्रचारप्रसार गर्न सकेमा यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्छ । दरबारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि स्थानीय बासिन्दा र वडा तहको पहलपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले यसलाई पदमार्गसहितको पर्यटकीय गन्तव्य बनाउने अभियान थालेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here