भारतबाट आएर सीधै घर पुगेकी पर्वतकी एक महिलालाई कोरोना पुष्टि

पर्वत, ३१ असार ।
भारतबाट आएर पुलिङ क्वारेन्टाइनमा नबसी सीधै घर पुगेकी गएकी पर्वतकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको गोरखपुरबाट सुनौली आएपछि त्यहीँबाट ट्याक्सी रिजर्भ गरेर जिल्लाको मोदी गाउँपालिका-२ देउपुरस्थित आफ्नो घरमा पुगेकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । उनी गत २१ गते घरमा पुगेकोमा असार २९ गते स्वाब परीक्षण गर्दा संक्रमित रहेको पाइएको हो ।

वडाध्यक्ष विकास तिमिल्सिनाले उनी आएको थाहा पाएपछि घरमा पुगेर अवस्थाबारे जानकारी लिएका थिए । आफू त्यहाँ पुग्दा उनी परिवारको अन्य सदस्यसँगको सम्पर्कमा नरही घरकै छुट्टै कोठामा बसेको पाइएकाले उनमा संक्रमणको पुष्टि भएपनि आत्तिनुपर्ने अवस्था नरहेको तिमिल्सिनाले बताएका छन् ।

स्वाब परीक्षणको रिपोर्ट नआउँदै वडाध्यक्षमार्फत नै उनलाई सदरमुकाममा रहेको पुलिङ क्वारेन्टाइनमा सारिएको थियो । नतिजा पोजेटिभ आएपनि उनलाई सदरमुकामै रहेको आइसोलेसनमा सारिएको छ । उनी घरमा गएका कारण उनको सम्पर्कमा आएका व्यक्तिहरूको पनि पीसीआर परीक्षण गरिने भएको छ ।

यसअघि पर्वतकी एक महिलाले पनि क्वारेन्टाइन बसाइमा लापरबाही गरेको पाइएको थियो । सदरमुकामको क्वारेन्टाइनमा कम्तीमा २ हप्ता बसेपछि अवस्था हेरेर स्थानीय तहमा पठाउने भनी जिल्ला स्तरीय सिसिएमसीले निर्णय गरेको भएपनि कुस्मा नगरपालिका १० पिपलटारीकी ती महिला ५ दिनमा नै सदरमुकामको क्वारेन्टाइनबाट घरमा पुगेको पाइएको थियो । प्रहरीले पक्राउ गरेपछि उनमा संक्रमण पोजेटिभ रहेको पाइएको थियो ।

लगत्तै उनको सम्पर्कमा रहेका परिवारका १२ जनाको आरडिटी परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अन्य थुनुवा र प्रहरीको समेत पीसीआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको थियो ।

पर्वतमा भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई कुस्मा र मोदी गाउँपालिकामा बनाइएका पुलिङ्ग क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । सबैको पीसीआर परीक्षण गरेपछि मात्रै स्थानीय तहमा रहेको सामुदायिक क्वारेन्टाइनमा जान दिइन्छ ।

जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेहरूको सङ्ख्या बढिरहेको अवस्थामा मुलुक बाहिरबाट आएकाहरू स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा रहने गरेका थिए । तर, लकडाउन खुकुलो भएपछि सवारी सञ्चालनमा आएको सहजतासँगै सम्बन्धित निकायहरूसँग समन्वय नै नगरी आफ्नै तरिकाले घरमा जानेहरू बढेका छन् ।

Soc: thahakhabar

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here