बागलुङका सिडियो सैजु गृह तानिए, गृहबाट न्यौपाने आउने

गौलोचन सैजु

बागलुङ, ३० असार ।
बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु गृह मन्त्रालय सरुवा भएका छन् ।

बागलुङका प्रजिअ सैजुलाई गृह तानेर नयाँ सिडियोको रुपमा सुरेश न्यौपानेलाई पठाइने तयारी गरिएको गृहमन्त्रालय स्रोतले जानकारी दियो ।

कोरोना महामारीको समयमा जिल्लाको तथ्यांकको बारेमा अपडेट नभएको, संक्रमित संख्या, निको भएकाको संख्या, विदेशबाट फर्किएका नागरिकहरुको संख्याको बारेमा कुनै जानकारी नराखेको, पत्रकारहरुको प्रश्नबाट भाग्न खोजेको लगायतको गुनासो बढेपछि प्रजिअ सैजुलाई गृहमन्त्रालय तानिएको हो ।

पत्रकार महासंघ बागलुङ शाखाको २० औं स्थापना दिवसको अवसरमा आयोजित ‘कोरोना कहर र पत्रकारको चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा धेरै प्रश्न प्रजिअ सैजु माथि उठेको थियो । उक्त कार्यक्रममा पत्रकारहरुले कोरोना कहरमा पत्रकारहरुले सत्यतथ्य सूचना नागरिकलाई दिनुपर्ने बेला जिल्लाको कमाण्ड गरिरहेका प्रजिअले कुनै पनि जानकारी दिन नसकेको गुनासो गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सैजुलाई गृह तानिएको र नयाँ प्रजिअको रुपमा गृहबाट सुरेश न्यौपानेलाई पठाउन लागिएको मौखिक जानकारी आएको जिल्ला प्रशासन कार्यालय बागलुङ स्रोतले खबरवे अनलाईनलाई जानकारी दियो । प्रशासन स्रोतका अनुसार अहिलेसम्म मौखिक जानकारी आइपुगेको र पत्र तयार हुँदै गरेकोले बेलुकासम्म आइपुग्ने बतायो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here