‘श्रमजिवी पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टि गरिनुपर्छ’

बागलुङ, २५ असार ।
कोरोना महामारीबाट प्रत्यक्ष रुपमा श्रमजिवी पत्रकारहरुको जागिर धरापमा परेको भन्दै पेशागत सुरक्षाको ग्यारेन्टि गरिनुपर्ने बताएका छन् ।

पत्रकार महासंघ बागलुङ शाखाको २० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘कोरोना कहर र पत्रकारको चुनौती’ विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले कोरोना महामारीको बेला विज्ञापन बजार शुन्यमा झरेको भन्दै ठूला मिडियाबाटै पत्रकारहरुलाई जागिरबाट निकाल्ने र मिडियाहरु नै बन्द गर्न सुरु गरिएकोले सरकार र पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाको लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

अन्तरक्रियामा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बागलुङका सञ्चार माध्यमहरुलाई विज्ञापन उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँहरु नियम अनुसार संचार माध्यमलाई विज्ञापनहरु उपलब्ध गराउँदै आएको बताउँदै श्रमजिवी पत्रकारहरुलाई सञ्चार माध्यमहरुले नियमानुसार पारिश्रमिक दिनुपर्ने बताउनुभयो । ‘कुनै व्यक्तिलाई सिधै बजेट विनियोजित गर्न मिल्दैन,’ नगरप्रमुख पौडेलले भन्नुभयो–‘हामीले संचार माध्यमहरुलाई दिन मिल्ने विज्ञापनहरु नियमित उपलब्ध गराउँदै आएका छौं । श्रमजिवीहरु पत्रकारको लागि पारिश्रमिक उपलब्ध गराउन महासंघले संचारमाध्यमसँग समन्वय गरिदिँदा राम्रो हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले पत्रकारिताको कारण आम नागरिक सूचित हुने मौका पाएकोले संकटको बेला पत्रकारले अझै संयम भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका सचिव ज्ञामनाथ गैरे, कांग्रेस सचिव नवराज पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, अन्तरपार्टी महिला संजालकी अध्यक्ष मञ्जु क्षेत्री, जनता समाजवादी पार्टीका अध्यक्ष यामबहादुर घर्ती, बागलुङ उद्योग बाणिज्य संघका थानेश्वर सुवेदी, नागरिक अगुवा काजी गाउँले श्रेष्ठ, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी लागयतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सचिव राम थापाको संचालन र सह–सचिव सुबास आचार्यको स्वागतमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष विजय रानाले महासंघको भवन निर्माणको आर्थिक हिसाव सार्वजनिक गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here