
राम खत्री
बागलुङ, २३ असार ।
पुल भत्किएपछि गल्कोट नगरपालिका १ दुदिलाभाटिका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । गएराति परेको भारी वर्षापछि जिर्ण अवस्थामा रहेको गौंदी खोलामा हालिएको झोलुङ्गे पुलको जिप भत्किएपछि दुदिलाभाटिको साविक वडा नं ८ का स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।
भाटीबजार र थलिङ जोड्ने गौंदी खोलामा रहेको झोलुङगे पुलको एकापटिको लठ्ठा अड्याउने पर्खाल नै भत्किएपछि अहिले त्यस वरपरका बासिन्दा अत्यावश्यक कामका लागि वडा कार्यलय लगायत अन्यत्र आवतजावत गर्न समस्या भएको स्थानीय भिम भण्डारीले जानकारी दिनुभयो ।
२०३२ सालमा निर्माण गरिएको पुल लामो समयदेखि जिर्ण अवस्थामा रहेको थियो । उक्त पुल हुंदै दैनिक सयौंको संख्यामा विद्याथी लगायत अन्य मानिसहरु आवातजावत गर्ने भएपनि पुलको मर्मत सम्भारमा भने सम्बन्धित निकायले चासो नदिएको स्थानीयबासीले गुनासो गरेका छन् ।
विगत लामो समय देखि पुलको लठ्ठा जिर्ण भएकोे साथै काठका फलेक पनि कुहिएर प्वाल प्वाल भएका कारण बिद्यार्थी हरु जोखिम पुर्ण यात्रा गर्न विवस रहेका थिए । समयमै आवश्यक मर्मत सम्भार नहुंदा जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको जोखम रहेको थियो ।
पटक पटक जिर्ण झोलुङ्गे पुलको जीर्णेद्धारका लागि स्थानीयवासीले आवाज उठाए पनि सम्बन्धित निकायले कुनै चासो नदिएपछि पुलको अवस्था नाजुक बन्देै गएको थियो ।
दैनिक जोखिम पुर्ण यात्रा गर्न बाध्य स्थानीयले पुलको लठा चुडिंएपछि गत १७ गते पुलको लठ्ठामा रड राखेर वेल्डिङ साथै भुंईमा विछाईएका काठका फलेक कुहिएर प्वाल परेको कारण नयां परिवर्तन गरि सामान्य मर्मत गरपेनि अविरल वर्षको कारणले पुलको भाटीबजार तर्फ को जीप भत्किए पछि झन् ठुलो समस्या भएको छ ।
यता वडा अध्यक्ष नेत्र बहादु्र बुढाथोकीले उक्त पुलको बारेमा आफनो ध्यानाकर्षण भएको र केहि बर्ष पहिला उक्त पुल भन्दा केहि तल भाटी बजार र भैंसे जोड्ने गरि ट्रष्ट बृज निर्माण भएपछि दु्रि नजिक पर्ने कारण प्राविधिक रुपमा समस्या हुने सर्बे मा आएको टोलिले बताएपछि समस्या समाधान गर्न नसकिएको बताउनुभयो । साथै आर्थिक बर्ष २०७७/७८ मा प्रदेश सरकारको योजनामा उक्त स्थानको पुल पनि समावेश गरिएकाले नयां पुल बन्नेमा विश्वस्त रहेको र तत्कालका लागि स्थानीयको आवातजावत सहजताका लागि नगरपालिका संग समन्वय गरेर काम गरिने बुढाथोकीले बताउनुभयो ।
अब साविक वडा नं ८का स्थानीयले घुमाउरो बाटो हुँदै आवत-जावत गर्नु पर्ने बाध्यता भएको छ ।










