वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रणमा सहकार्य

बागलुङ, २२ असार ।
जिल्ला प्रहरी कार्यालय बागलुङ वैदेशिक रोजगारको नाममा हुने मानव बेचविखान तथा ठगी नियन्त्रणको लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

विवाईसी बागलुङको स्थानीय व्यवस्थापनमा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत सोमबार आयोजित प्रहरीसँग अन्तरक्रिया कार्यक्रममा सहभागी प्रहरी अधिकृतले वैदेशिक रोजगारको नाममा हुने गैह्राकानुनी गतिविधि रोक्न सम्बन्धीत निकायसँगको सहकार्यलाई मजबु्द बनाउने बताएका हुन ।

प्रहरी अधिकृतहरुले वैदेशिक रोजगारको नाममा हुने आर्थिक ठगी, मानव बेचविखान जस्ता कार्यक्रममा पीडितलाई न्याय दिलाउन प्राकृतिक न्यायको सिद्धान्तलाई आधार बनाएर काममा सहयोग गर्ने बताएका थिए ।

वैदेशिक रोजगारीका मुद्दामा प्रहरीले मानवीय दृष्टिकोणबाट आवश्यक सहयोग गर्ने प्रहरी निरीक्षक हेमबहादुर केसीले बताउनुभयो । ‘विदेश पठाउने नाममा ठगी हुने क्रम बढ्दो छ उहाँले भन्नुभयो– क्षेत्राधिकार बाहिरको विषयलाई पनि कानुनी दायरामा ल्याउन सहयोग गछौँ ।

बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा गत मंसिरदेखि सामी परियोजना संचालनमा रहेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले कार्यान्वयनमा रहेको परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श, निःशुल्क कानुनी सेवा, सीप तालिम, मनोसामाजिक परामर्श तथा वित्तिय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनस्थपनाको काम गर्दै आएको विवाईसीका अध्यक्ष मणी शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा परियोजना संयोजक मिनप्रसाद उपाध्ययले वैदेशिक रोजगारको नाममा हुने ठगीमा आवश्यक प्रमाण जुटाउने तथा एजेन्टको खोजीमा प्रहरीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम विवाइसीका अध्यक्ष मणी शर्माको अध्यक्षता, सचिव दीपक गौतमको स्वागत र आप्रवासन स्रोत केन्द्र परामर्शकर्ता नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here