
बागलुङ, ११ असार ।
कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचाररत एक महिलाले छोरा जन्माएकी छन् ।
ढोरपाटन नगरपालिका–९ की १९ वर्षिय एक युवतीले विहिबार बिहान आइसोलेसन कक्षमै बच्चालाई जन्म दिएकी हुन ।
आइसोलेन कक्षमा रहेकी युवतीलाई सुत्केरी वेथा लागे पछि छुटै कोठामा व्यवस्थापन गरेर राखेको धौलागिरी अस्पतालका सल्यक्रिया कक्ष इन्चार्ज देवी भट्टराईले खबरवे अनलाईनलाई जानकारी दिईन ।
भारतदेखि घर फर्केका श्रीमान श्रीमति दुवैलाई असार ६ गते कोरोना पोजेटिभ देखिएको थियो । गर्भवती अवस्थामा भएको कारण उनलाई सोहि दिन धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताए । उनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रि–आइसोलेसनमा भएपनि गर्भवती अवस्थाको भएकोले उनलाई अस्पतालको आइसोलेसनमै ल्याइएको डा. पोखरेलले बताए ।
सुत्केरी आमा र नवजात शिसुको अवस्था सामान्य रहेको इन्चार्ज भट्टराईको भनाई छ । ‘युवतीको नर्मल डेलिभरी हो’ भट्टराईले भनिन–‘स्वास्थ्य अवस्था सामान्य रहे भोलीसम्म (शुक्रबार) डिस्चार्ज गर्न सक्छौँ ।’
बागलुङमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना निको भएर घर फर्केका छन भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले खबरवे अनलाईनलाई जानकारी दिए । बागलुङको दश स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा एक हजार ४८१ जना रहेका छन ।









