काठमाडौं, २७ वैशाख ।
बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ ।

अभाव झेल्दै उद्योग
विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको कच्चा प्रशोधन उद्योगमा सुरु गरिएको हो ।

करिडोरका धेरै उद्योगीको तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ । त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा आएका हुन् । खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेका थिए । सरकारले तीन दिन अगाडिको मन्त्रिपरिषद् बैठकबाट औद्योगिक (मदिराबाहेक) क्षेत्रलाई खुला गर्ने निर्णय गरेपछि बाँकी उद्योग क्रमशः सञ्चालनमा आएका हुन् ।

पूर्ण सञ्चालन हैन, मोरङ व्यापार सङ्घका अध्यक्ष एवं उद्योगी प्रकाश मुन्दडाले भन्नुभयो, उत्पादन कटौती गरेर सञ्चालनमा आएका छन् । कच्चा अभाव मात्रै नभई उत्पादित वस्तुको मागसमेत नभएपछि आवश्यकता हेरेर मात्रै उद्योग सञ्चालनमा आइरहेका हुन् । कच्चा पदार्थ आयात गर्ने भारत तथा तेस्रो मुलुकमा समेत कोरोना सङ्क्रमणको प्रभाव छ । कच्चा माग गर्न र बजार अभावका कारण उत्पादन कटौती गर्नुपर्ने भएको हो । उद्योगीले सेवा क्षेत्रभित्रका (स्थानीय) मजदुरलाई परिचालन गरेर तत्काल उद्योग सञ्चालन गर्ने भएका हुन् । बाहिरी जिल्ला र कतिपय भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उपलब्ध जनशक्तिलाई उपर्युक्त परिचालन गरिएको छ, अध्यक्ष मुन्दडाले भन्नुभयो, “उनीहरूको स्वास्थ्य सुरक्षा, सामाजिक दूरीसँगै आवास र खानपिनको व्यवस्थापन गर्न समस्या हुन्छ । ”

लामो समयसम्म बन्द भएका मेसिनको पुनः परीक्षण गरिरहेका छौँ, उद्योगी पवन सारडाले भन्नुभयो, आवश्यकता पर्ने र चल्नसक्ने उद्योग चल्लान् तर सबै उद्योग चलाउनसक्ने अवस्थामा छैनन् । उहाँका अनुसार अहिले स्टिल र वायर उद्योग चलाउनसक्ने अवस्था छैन ।

पूँजीगत खर्च न्यून रहेको र उधारो दिइसकेको सामानको भुक्तानी नभएको असर औद्योगिक क्षेत्रमा समेत परेको छ । बन्दाबन्दीले थप पीडा थपिदियो, उद्योगी सारडाले भन्नुभयो, हाम्रोमा सामान ढुवानीमा समेत विभिन्न प्रकारका समस्या छन् । उहाँका अनुसार २० देखि २५ प्रतिशत उत्पादन क्षमता प्रयोग गर्दा घाटा बेहोर्नुपर्छ तर पनि दैनिक आवश्यकताका उद्योग सञ्चालन गर्नुपर्ने दायित्वसमेत रहेको छ ।
सरकारको निर्णयलगत्तै करिडोरका जुट प्याकेजिङ, चाउचाउ, पेय पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएका छन् । त्यसबाहेक सिमेन्ट, स्टिल र वायर्स उद्योगले मेसिन परीक्षणको प्रक्रिया सुरु गरेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा मात्रै झन्डै छ सय उद्योग रहेका छन् ।

चले वीरगञ्जका ठूला उद्योग
वीरगञ्ज, वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका तीन ठूला उद्योग सञ्चालनमा आएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सरकारले तोकेबमोजिमको आवश्यक मापदण्ड पूरा गरेर सूर्य नेपाल, जगदम्बा स्टिल र हुलास स्टिल बिहीबारदेखि सञ्चालनमा आएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले जानकारी दिनुभएको हो । अन्य केही उद्योगले सञ्चालनका लागि सरकारले तोकेबमोजिमको आवश्यक सम्पूर्ण मापदण्ड पूरा गर्दै अनुमति लिन लागेको उनले बताए ।

लकडाउनका समयमा पनि ४४ प्रकारका उद्योग सञ्चालन गर्न सकिने गरी सरकारले लकडाउन खुकुलो पार्ने जनाएपछि उद्योगीहरू उद्योग सञ्चालनका लागि स्थानीय प्रशासनसँग समन्वय गरी मजदुरलाई उद्योग परिसरमा राखेर खाने तथा बस्ने सुविधा मिलाउने लगायत सरकारले जारी गरेका अन्य सर्त पालना गर्ने गरी उद्योग सञ्चालनका आएको बताइएको छ । अनुमति पाएका ठूला उद्योगहरू जसमा १५ सय कामदार एवं कर्मचारी छन्, तीमध्ये एक सिफ्टमा २५० जनाले काम गर्ने गरी जगदम्बा स्टिल उद्योग सञ्चालनमा आएको छ भने दुई सिफ्टमा ८०–८० जना कर्मचारीले काम गर्ने गरी ४५० कर्मचारी भएको सूर्य नेपाल पनि सञ्चालनमा आएको छ । त्यसैगरी एक सिफ्टमा १० मजदुर मात्र खटाउने गरी हुलास स्टिलले पाइप बनाउने प्लान्ट मात्र सञ्चालनमा ल्याएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा साना ठूला गरी करिब १२ सय उद्योग छन्, जसमध्ये औषधि र खाद्यान्नका करिब आधा दर्जन उद्योग र करिब ५० वटा चामल उद्योग पहिल्यैदेखि सञ्चालनमा रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । सञ्चालनमा रहेका भनिएका उद्योगसमेत पूर्ण रूपमा उत्पादन गर्ने गरी सञ्चालनमा नरहेको उद्योगी बताउँछन् । सञ्चालनमा रहेका पनि २५ प्रतिशत क्षमतामा मात्र सञ्चालन भएको बताए । पछिल्लो समयमा उद्योग सञ्चालन गर्न निकै कठिनाइ रहेको, अधिकांश उद्योगी वीरगञ्जमा रहेको र वीरगञ्जबाट उद्योग आउजाउ गर्न समस्या रहेको, त्यस्तै गरी कामदार वीरगञ्ज सहर लगायत विभिन्न गाउँबाट आउनुपर्ने भएकाले लकडाउनका कारण उद्योग चलाउन असहज रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष केडियाले बताए ।

कच्चा पदार्थ, श्रमिक र आपूर्तिको समस्या
हेटौँडा, विकास निर्माणका काम र औद्योगिक प्रतिष्ठान स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सुचारु गर्न सरकारले गरेको पछिल्लो निर्णयप्रति उद्योगी व्यवसायी सकारात्मक देखिएका छन् ।

बन्दाबन्दीपछि खाद्यान्न, दूध, दानालगायतका अत्यावश्यक वस्तु उत्पादन गर्नेबाहेकका सबैजसो उद्योग प्रतिष्ठान बन्द रहेकामा पछिल्लो समय उद्योग प्रतिष्ठान खुल्ने क्रम बढेको छ । अघिल्लो सातासम्म हेटौँडा औद्योगिक क्षेत्रभित्रका १११ वटा उद्योगमध्ये २५ वटा आफ्नो उत्पादन क्षमताको १८ प्रतिशतमा उपयोग गरी सञ्चालनमा रहेका थिए ।

हेटौँडा औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले शुक्रबारसम्ममा सञ्चालनमा आएका उद्योगको सङ्ख्या ३५ पुगेको र ती उद्योग उद्योग आंशिक रूपमा सञ्चालनमा रहेको जानकारी दिए ।
बहुराष्ट्रिय कम्पनीहरू बर्जर, एसियन पेन्ट्स, अल्कोवा सीएसआई नेपाल प्रालिलगायतका उद्योग सञ्चालनका लागि सरसफाइलगायतको तयारीमा रहेको बताउँदै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उद्योग सञ्चालन गरिएको बताए । उद्योग सञ्चालनमा अझै केही अन्योल रहेको र कच्चा पदार्थ तथा उत्पादित वस्तु ढुवानीमा प्रदेश एवं सङ्घीय सरकारको सहयोग र समन्वय आवश्यक भएको भन्दै उनले भने, उत्पादित वस्तुको माग नरहेको, बजारसम्म आपूर्ति गर्न र कच्चा पदार्थ आयातमा समस्या रहेको छ । उनले भने, “मुख्य बजार काठमाडौँ भएकाले आपूर्तिको लागि सहज वातावरण सरकारले सहज वातावरण निर्माण गरिदिनुपर्छ । ”

बन्दाबन्दीपछि उद्योग प्रतिष्ठानका कामदार कर्मचारी घर गएकाले उनीहरूलाई ल्याएर उद्योग सुचारु गर्न कतिपय उद्योगलाई समस्या हुँदा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड स्वास्थ्य सुरक्षाको आवश्यक व्यवस्थासहित भौतिक दूरी कायम राखेर उद्योग सञ्चालन गरिरहेको उद्योगस्थित अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष जयराम धितालले जानकारी दिए । दुई साताअघि बाट सञ्चालनमा आएको युनिलिभरले १८ जना मजदुर राखेर साबुन उत्पादन गर्दै आएकामा आगामी साताबाट टुथपेस्ट उत्पादन गर्नेगरी प्लान्टको स्यानिटाइज, सरसफाइलगायतको काम थालेको छ । औद्योगिक क्षेत्रका उद्योगहरूमा झन्डै पाँच हजार कामदार कर्मचारी कार्यरत रहेका छन् ।
गोरखापत्र दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here