
काठमाडौं, १४ वैशाख
भारतबाट आएर सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसिरहेका १५ जना नेपालीमा औलो देखिएको छ । उनीहरू अधिकांश पुरुष छन् । कोरोना भाइरस फैलन नदिन व्यवस्था गरिएको क्वारेन्टाइनमा औलोको प्रकोप बढ्न सक्ने देखिएपछि स्वास्थ्य अधिकारी चिन्तित भएका छन् ।
‘भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिमा औलो देखिएको हो। महिलाभन्दा पुरुषमा औलो बढी पाइएकोे छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले भने । औलो संक्रमित सबै व्यक्तिको उपचार भइसकेको उनले बताए ।
‘आफैँट सुरु गरौं, औलोलाई शून्यमा झारौं’ भन्ने नाराका साथ शनिबार विश्व औलो दिवस मनाइरहँदा नेपालमा यस रोगका बिरामी भेटिएका हुन् । विश्व स्वास्थ्य संगठनले अप्रिल २५ तारिखलाई विश्व औलो दिवसका रूपमा मनाउने गरेको छ। नेपालले सन् २०२५ मा औलोमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ ।
गर्मी सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगले क्वारेन्टाइनमा बस्नेहरूलाई पिरोल्न थालेको छ । अन्य व्यक्तिमा पनि औलो देखिन सक्ने सम्भावना रहेकाले परीक्षण बढाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार क्वारेन्टाइनका अन्य व्यक्तिका पनि स्वाब नमुना संकलन कार्य भइरहेको छ । कतिवटा क्वारेन्टाइनमा बसिरहेका व्यक्तिलाई औलो देखिएको हो भनेर उनले खुलाएनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले औलोका बिरामी भेटिएकाले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने खाँचो रहेको बताए । मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा शनिबार प्रवक्ता डा. देवकोटाले गर्मीमा औलोले प्रकोपको रूप लिन सक्ने बताए। ‘गर्मी सुरु भएको छ । औलोको प्रकोप देखिने समय आउँदै छ’, उनले भने, ‘क्वारेन्टाइनमा रहेका व्यक्तिमा पनि औलोको परीक्षण गर्दा पोजिटिभ देखिएको छ । अब क्वारेन्टाइनमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। गुणस्तरमा पनि वृद्धि गर्नुपर्ने हुन्छ ।’
लकडाउनमा फुर्सद भएकाले व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिन उनले आग्रह गरे। घरभित्र र घर वरपर, करेसाबारीजस्ता ठाउँमा सरसफाइ गरौं । घरनजिकै पानी जम्ने ठाउँ भए पुरौं’, उनले भने, ‘विशेषगरी गर्भवती र बालबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाऔं । झुलको प्रयोग गरौं ।’ औलोका कारण विश्वमा प्रत्येक दुई मिनेटमा एक बच्चाको ज्यान जाने गरेको उनले बताए ।
जोखिम न्यूनीकरणका लागि लामखुट्टेविरुद्ध विषादी छिर्काउ कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिइएको उनको भनाइ छ। औलो संक्रमणबाट गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा पर्छन् ।
आजको अन्नपूर्ण पोष्टबाट









