
राजेशचन्द्र राजभण्डारी
बागलुङ, ९ बैशाख ।
कोरोना भाइरस (कोभिड–१९)लाई लक्षित गरेर लक्ष्मी बैंक लिमिटेड बागलुङ शाखाले धौलागिरी अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
लक्ष्मी बैंकका कर्मचाहरूद्वारा प्रवर्तित लक्ष्मी केयर्सले ८ थान ज्वरो नाप्ने थर्मल गन र २ थान पिपिई उपलब्ध गराई मंगलबार अस्पताल ब्यबस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामाग्रीको अभावको कारण स्वास्थ्यकर्मीहरुले जोखिम मोल्दै सेवा प्रदान गरिरहेकाले उनीहरुलाई सुरक्षित बनाउन बैंकले थर्मन गन र पिपिई सहयोग गरेको बैंकका बागलुङ शाखा प्रमुख सुवास पन्तले जानकारी दिनुभयो । उहाँले बैंकका कर्मचारीहरुले आफ्नो तलबको रकमबाट सामाग्री खरिद गरि सहयोग गरेको बताउनुभयो ।
सामाग्री बुझेपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि रानाले स्वास्थ्य सामाग्रीको सहि सदुपयोग गरिने बताउनुभयो । उहाँले अहिले अस्पतालमा ज्वरोका विरामी आउँदा स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर उपचार गरिरहेकाले सामाग्रीले जोखिमको अन्त्य हुने बताउनुभयो ।
अस्पतालमा कोरोनाका बिरामीको स्वास्थ उपचार गर्दै आएका स्वास्थ्यकर्मीलाई विभिन्न सामाजिक संघसंस्था र ब्यक्तिले सहयोग गर्दै आएका उपकरणले केही हदसम्म सहयोग पु¥याएको छ ।
धौलागिरी अञ्चल अस्पताललाई नेपाल सरकारले कोरोना संक्रमणको उपचार गर्ने अस्पताल घोषणा गरेको छ । अस्पतालको आइसोलेसनमा २ जना कोरोना संक्रमित विरामी भर्ना भएकोमा ६५ बर्षिय महिला निको घर फर्कनुभएको छभने १९ बर्षिय युवती उपचाररत रहेकी छिन् । उनको अवस्था सामान्य रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो ।









