
बागलुङ, २८ फागुन ।
काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोरोना भाइरसको संक्रमणबाट बच्न विद्यार्थीहरुलाई स्वास्थ्य सरसफाई सचेतना तथा साबु, टुथपेष्ट र ब्रस वितरण गरिएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा वडा कार्यालय, भीमापोखरा स्वास्थ्य चौकी र विवाईसी बागलुङको सहकार्यमा मंगलबार स्वास्थ्य सरसफाई सम्बन्धी सचेतना कार्यक्रम र स्वास्थ्य सामाग्रि वितरण गरिएको हो ।
भीमापोखराका जनकल्याण माध्यमिक विद्यालय, शिवालय आधारभूत विद्यालय, मुन्द्रिदेव आधारभूत विद्यालय र जनप्रिय आधारभूत विद्यालयका ५ सय बढी विद्यार्थीहरुलाई प्रति व्यक्ति, २ ओटा साबुन, १ कोल्केट र १ दाँत माझ्ने ब्रस वितरण गरिएको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो ।
वडा कार्यालय र विवाइसी बागलुङको आर्थिक सहयोगमा प्रति विद्यार्थी १ सय रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रि वितरण गरिएको वडाअध्यक्ष शर्माले खबरवे अनलाईनलाई दिनुभयो ।
वडाअध्यक्ष शर्माले विश्वभर कोरोनाको संक्रमण बढिरहेकोले त्यसबाट बच्नको लागि सरसफाईमा ध्यान दिन विद्यार्थीहरुलाई सचेतना कार्यक्रम र सामाग्रि वितरण गरेको जानकारी दिनुभयो । उहाँले वडा स्वास्थ्य आमा समुहलाई केहि दिनमै स्वास्थ्य सचेतना र सामाग्रि वितरण गरिने बताउनुभयो ।
उक्त कार्यक्रममा वडाअध्यक्ष विद्यापति शर्मा, विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा र जनकल्याण माविका प्रधानाध्यापक लिलाराम सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत भीमापोखरा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रमणि उपाध्याय र संचालन स्वास्थ्य चौकीका इन्चार्ज सोमराज पाण्डेले गर्नुभएको थियो ।
स्वास्थ्यलाई प्राथमिकता दिएको वडा कार्यालयले १० विपन्न परिवारलाई १० ओटा ट्वाइलेट निर्माण गरिदिने वडा अध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो ।









