सानैमा बिहे, पछि छोडपत्र

सुर्खेत, ९ असोज
कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ । कलिलैमा गरिने बिहेका कारण धेरै परिवार टुक्रिएका छन् । सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ ।
कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने दर बढेको सरकारी तथ्यांकले देखाएको छ । उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ ।
अधिकांश बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ । तैपनि, बालविवाह रोकिएको छैन ।
बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा यहाँका किशोरी बढी पीडित छन् । उमेर नपुग्दै गर्भवती हुने र बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन् ।
पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन् । आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरिदिन्छन् ।
प्रेम सम्बन्धका कारण अधिकांश बालबालिकाले उमेर नपुग्दै हतारमा बिहे गर्ने गरेका छन् । अभिभावकको अनुमतिबिना कलिलैमा बिहे गरेका धेरै जोडी परिवारबाटै तिरस्कृत छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ग्रामीण क्षेत्रमा बढी बालविवाह हुने गर्छ । जसकारण किशोरी आमाको संख्या बढेको, मातृमृत्युदर बढेको, अधिकांश बालबालिकाले बीचमै पढाइ छाडेको, सम्बन्धविच्छेद र बहुविवाह बढेको तथा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बाल अधिकारकर्मीको भनाइ छ । हतारमा बिहे गर्ने र आर्थिक व्ययभार थेग्न नसकेर धेरै किशोर रोजगारीका लागि बिदेसिन बाध्य छन् ।
कतिपय जिल्लामा बालविवाहविरुद्ध अभियानको नेतृत्व गर्ने बालबालिकाले नै बालविवाह गरेका छन् । यसले बालविवाह न्यूनीकरणमा थप चुनौती देखा परेको छ ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here