लागूऔषध धन्दामा विदेशी : तीन वर्षमा ४२६ जना पक्राउ

काठमाडौं, ६ असोज
मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ।
नेपाल प्रहरीको पछिल्ला तीन वर्षे तथ्यांकले नेपालमा विदेशी लागूऔषध कारोबारीको सक्रियतासँगै कारोबार बढेको देखाएको हो ।
प्रहरीको आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्मको तथ्यांकले तीन वर्षको अवधिमा ४ सय २६ जना विदेशी नागरिक लागूऔषध कारोबार क्रममा पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा १ सय १२ जना पुरुष तथा ६ जना महिला गरी १ सय १८ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । यसैगरी, आव २०७३/७४ मा १ सय ४६ जना पुरुष तथा १३ जना महिला गरी १ सय ५९ जना विदेशी नागरिक लागूऔषध कारोबारको शीर्षकमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको हो ।
त्यस्तै, आव २०७४/७५ मा १ सय ३९ जना पुरुष र १० जना महिला गरी १ सय ४९ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले विदेशबाट लागूऔषध ल्याउने र यहाँबाट अन्यत्र लैजान नेपाली भूमि प्रयोग गर्ने गरिएको पाइएको बताए ।
‘लागूऔषध कारोबारमा पक्राउ परेका विदेशीको हालसम्मको आँकडाले विदेशबाट महँगा लागूऔषध नेपाल भित्र्याउन र नेपालबाट अन्यत्र लैजान नेपाली भूमि प्रयोग गर्ने गरिएको देखिन्छ,’ प्रवक्ता पोखरेलले भने ।
आजको राजधानी दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here