बढ्यो बाल हिंसा: अपहरणदेखि बलात्कारसम्म

जनकपुरधाम, २९ भदौ ।
बालबालिका असुरक्षित छन् । दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन् । यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन् ।
आव ०७५र७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ । ०७४/७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए ।

अपहरण गरी हत्या

मिथिला नगरपालिका ढल्केबर–६ का अढाई वर्षीय आर्यन साहलाई वैशाख २३ गते छिमेकी शत्रुधन महतोले अपहरण गरी बन्धक बनाए । आमा खोज्दै रोइरहेका आर्यनलाई अपहरणकारीले भैंसीको दूध खुवाएर सुताए । शक्तिशाली धामी बन्ने अन्धविश्वासका कारण मध्यरातमा बालकको ‘चमेनी माई’ लाई बलि चढाए । शव घरपछाडिको बगैंचामा फाले ।आर्यन हत्याको दुई सातापछि शत्रुधन पक्राउ परे । घटनाका योजनाकार मिथिला नगरपालिका–८ कुसुमबिछौनाका जंगवीर महतो पनि पक्राउ परे ।

बलात्कारपछि जलाएर हत्या

हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिका रेश्मा रसाइलीको २०७५ फागुन २ मा बलात्कारपछि जलाएर हत्या गरियो । १ गते छिमेकीको छोरीको विवाह भोजको निम्तो थियो रेश्मा परिवारलाई । उनी परिवारका साथ भोज खान गएकी थिइन् । अरू फर्केर घर आए । उनी नाचगानमा रमाइरहेकी थिइन् । लाइन झ्यापै गएर अँध्यारो भयो । त्यसको मौका छोप्दै विवाहमा मामाघर आएका बटेश्वर गाउँपालिका–४ का २२ वर्षीय निरज जर्घामगरले बालिकालाई फ्रुटी किनिदिने भन्दै पसलतिर लगे ।
निरजले चाउचाउ र फ्रुटी किनिदिए । नजिकैको उखुखेतमा लगेर बलात्कार गरे । पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरिदिए । प्रमाण नष्ट गर्न उखुको पतकरले शव जलाइदिए ।
बिहान बालिकाको शव आधा जलेको अवस्थामा देखेपछि उनी भागे । लुकिछिपी बसिरहेका निरज विदेह नगरपालिका–२ दुहबीबाट फागुन ६ गते पक्राउ परे । अहिले उनी जेलमा छन् ।
बालिकाका काका देवराजले भने, ‘निर्मम तरिकाले अवोध बालिकाको हत्या भयो । हामी कोही सुरक्षित छैनौं  । घाँसदाउरा गर्न जान पनि चेलीबेटी डराइरहेका छन् ।’

आठमहिने बालिकाको हत्या

महोत्तरी औरही–१ की आठमहिने सोनाली चौधरीलाई खेलाउने बहानामा भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले बेपत्ता बनाए । १० भदौ २०७५ मा हत्या गरे । शव फालेर फरार साहलाई प्रहरीले कात्तिक ४ गते पक्राउ गर्‍यो ।

मुस्कानमाथि एसिड प्रहार

गत भदौ २० गते बिहानैे वीरगन्ज महानगरपालिका–१३ श्रीपुर निवासी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भयो । त्रिभुवन माध्यमिक विद्यालय जाने क्रममा वीरगन्जको गणेशमान चोकमा प्रेमप्रस्ताव अस्वीकार गरेको भन्दै स्थानीय सम्साद मियाले उनीमाथि एसिड प्रहार गरेका थिए । गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचार गरिएको छ ।

भारत पुर्‍याएर बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने किशोरी २०७५ फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन् । अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर भाग्न सफल भइन् । ‘नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘तीन महिनासम्म बलात्कार गर्‍यो ।’
ती किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो । ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो ।’
उनी जेठ ५ गते भागेर जनकपुर आउन सफल भइन् । महोत्तरी लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राइन कवारीसहित चारविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता भएको डीएसपी रामेश्वर कार्कीले बताए । चारैजना फरार छन् ।

रिसिबीले अपहरण गरेर हत्या

वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय करण साहलाई अपहरणकारीले २०७६ जेठ १५ मा हत्या गरे । विद्यालयबाट घर फर्किंदै गर्दा बालकको अपहरण भएको थियो । बिहारको बेतियाका घर भई वीरगन्जको प्रगतिनगरमा बस्दै आएका २० वर्षीय विकास शर्मा, कलैया उपमहानगरपालिका–११ का २१ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरपाता निवासी २० वर्षीय रामविनेश महतो बालक हत्या आरोपमा प्रहरीले पक्राउ गर्‍यो ।
बालकको अपहरणपछि अपहरणकारीले ३० लाख फिरौती मागेका थिए। फिरौती रकम दिन नसक्दा हत्या भएको थियो । प्रहरीले बालकको अपहरण र हत्यामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएको थियो । बालक करणको बुबा शम्भुको घर नजिकै डेरा गरी बस्दै आएका विकास अपहरण र हत्याको मुख्य योजनाकार थिए । विकास र करणका बुवा शम्भुबीच समान्य विवाद थियो । त्यही रिसइबी साध्न बालकको अपहरण गरेका थिए ।

बालिकामाथि धेरै हिंसा

प्रदेश २ का बालबालिकामाथि हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि भएको छ। ०७४/७५ मा तीन सय ६४ बाट बढेर ०७५/७६ मा चार सय ४७ वटा बालहिंसाको घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
अन्य घटनाभन्दा जबरजस्ती करणी प्रयास र बलात्कृत बालिकाको संख्या बढी छ ।

आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here