नादेझ्दा कपः नेपाल उपविजेता

काठमाडौं, २६ भदौ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको छ । उपाधि भिडन्तमा नेपाल उज्बेकिस्तानसँग ३-२ ले पराजित भयो ।
उज्बेकिस्तानले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफको सुरुवातमै अग्रता अझै बढायो । नेपाली डिफेन्स पोजिसनमा नरहेको फाइदा उठाउँदै उज्बेकिस्तानले ५४ औं मिनेटमा अग्रता दोब्बर पार्यो । ६४ औं मिनेटमा फेरी पनि उज्बेकिस्तानले उत्कृष्ट पासको नमुना देखाउँदै ३-० को अग्रता लियो ।
नेपालका लागि सावित्रा भण्डारीले ६७ औं मिनेटमा गोल फर्काइन् । सरु लिम्बु र सावित्राबीच उत्कृष्ट वन-टु पासमा बढेको मुभलाई सावित्राले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै अग्रता घटाएकी थिइन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । अनिता बस्नेतको प्रहारले उज्बेकी डिफेन्डरको हातमा लागेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । तर थप समयमा गोल हुन नसक्दा नेपाल उपविजेतामा सिमित भयो ।
नेपाल यस हारसँगै आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ । यसअघि ६ पटक भारत र १ पटक म्यानमारसँग नेपाल फाइनलमा पराजित भएको थियो ।
यस्तै नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी छिन् । फाइनलमा उज्बेकिस्तानविरुद्ध २ गोल गर्दै सावित्राले अनुको ३५ गोलको कीर्तिमान बराबरी गरेकी हुन् ।
सावित्राले राष्ट्रिय टोलीका लागि ३७ खेल खेल्दै ३५ गोल गरेकी छिन् । सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी सावित्राले त्यसपछि लगातार राष्ट्रिय टोलीका लागि गोल गर्दै आएकी छिन् । डेब्यु खेलमा नै गोल गर्दै सानदार सुरुवात गरेकी सावित्राले त्यसपछि अर्को गोल गर्न ७ खेल कुर्नुपर्यो ।
सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा श्रीलंकाविरुद्ध २ गोल गरेकी सावित्राले मलेसियाविरुद्ध नेपालमा भएको मैत्रीपूर्ण खेलमा विजयी गोल गरेकी थिइन् । त्यसपछि भारतको सिलिगुडीमा भएको साफ च्याम्पियनसिपमा उनले ४ खेलमा १२ गोल गरेकी थिइन् । त्यस प्रतियोगितामा भुटानविरुद्ध ६ र माल्दिभ्सविरुद्ध ५ गोल गरेपछि उनी चर्चाको शिखरमा पुगेकी थिइन् ।
मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा गोल गरेपछि सावित्राले ओलम्पिक छनोट अन्तर्गत म्यानमारलाई बराबरीमा रोक्दा पनि गोल गरिन् । भारतमा भएको हिरो गोल्डकपमा भारत र इरानविरुद्ध जितमा २-२ गोल गरेकी उनले नेपालमा भएको साफ च्याम्पियनसिपमा सबै ४ खेलमा १-१ गोल गर्न सफल भइन् । त्यसपछि ओलम्पिक छनोटको दोस्रो चरणमा इन्डोनेसियाविरुद्ध २-१ को जितमा दुवै गोल उनको नाममा रहयो ।
किर्गीस्तानमा जारी नादेझ्दा कपको पहिलो खेलमा आयोजकविरुद्ध ४ गोल गर्दै उनले गोलसंख्या ३२ पुर्याइन् । त्यसपछि समूहको अन्तिम खेलमा ताजिकिस्तानविरुद्ध विजयी गोल गरेकी सावित्राले फाइनलमा २ गोल गरेकी हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here