
काठमाडौं , २२ भदौ ।
एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ ।
नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । कप्तान अकबर अलीले ८२ बलमा ९८ रनमा अविजित रहेपछि नेपाल पराजित हुन पुगेको हो । त्यस्तै सामिम हसनले ५४ बलमा ४२ रनमा अविजित रहे । तौहीद हृदोयले ६० रनको योगदान दिए ।
नेपालका लागि कमलसिंह ऐरी २,राशिद खान र हरि बहादुर चौहानले समान १ विकेट लिए ।
त्यसअघि आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महत्वपूर्ण योगदान दिए । ४२ ओभरको दोस्रो बलमा मृत्तुनजोय चौधरीले कप्तान अकबर अलीबाट क्याच आउट गराउनु अघि पवनले १ सय ११ बलमा ८ चौका र १ छक्का प्रहार गरे । नेपाललाई विशाल योगफल सम्म पुर्याउन सन्दीप जोराले विश्फोटक इनिङ खेले ।

३८ ओभरको दोस्रो बलमा कप्तान रोहित कुमार पौडेल आउट भएपछि मैदान छिरेका सन्दीप जोराले ३७ बलमा समान ३ चौका र छक्का सहित ५६ रनको आक्रमक इनिङ खेले । भिम सार्की २१ रनमा आउट भए । छैटौ विकेटका लागि सन्दीप र भिमले ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । पहिलो विकेटका रुपमा १४ ओभरको पाँचौ बलमा ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए । रितले ५३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।पहिलो विकेटका लागि रित र पवन सरार्फले ४५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । १७ ओभरको अन्तिम बलमा विकेटकीपर आशिफ शेख १२ बल खेली ३ रन जोड्दै क्याच आउट भए । सुस्त गतीमा सुरुवात गरेको नेपाललाई आक्रमक शैलीमा प्रस्तुत हुँदै कुशल मल्लले केहि इनिङ उकास्न खोजे ।
तर कुशल लामो समय मैदानमा टिक्न सकेनन् । २७ ओभरको पाँचौ बलमा ठूलो सटको धुनमा क्याच आउट हुनुअघि कुशलले ३२ बलमा ३ छक्का र १ चौका सहित २८ रनमा क्याच आउट भए । कप्तान रोहित कुमार पौडेल १४ रनमा क्याच आउट भए । राशिद खान ६ रनमा आउट हुँदा कमलसिंह ऐरी १ छक्का सहित ४ बलमा ९ रनमा अविजित रहे ।
बंगलादेशका लागि मोहम्मद तानजिम हसन र शाहिन आलमले समान २ विकेट लिए । मुत्तुनजय चौधरी, रकीबुल हसन, शामिम हसन र तोहीद हृदोयको नाममा समान १ विकेट रह्यो । नेपालल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार यूएईसँग खेल्ने छ ।









