
सुर्खेत, ३० साउन
सम्झौताअनुसा काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थ्यो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनी र एमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो । गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ ।
२०७४ असार २८ गते सो निर्माण कम्पनीले १२ करोड ४५ लाख ४० हजार ९४२ रुपैयाँमा २०७६ असार मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
सम्पन्न गर्ने समयसम्म २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको कम्पनीलाई सडक डिभिजन कार्यालय चौरजहारी (रुकुम पश्चिम) ले एक वर्ष म्याद थपेको छ ।
देश मन्त्रालय मातहत आउनुअघि यो सडक डिभिजन सडक कार्यालय सुर्खेतको कार्यक्षेत्रभित्र थियो । उतिबेलै समयमै काम सम्पन्न गर्न डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई तीनपटक पत्र काट्यो । निर्माण कम्पनीले कुनै पनि पत्रको जवाफ दिएन् ।
‘उतिबेला निर्माण कम्पनीबाट एउटै पत्रको पनि जवाफ आएन्,’ डिभिजन सडक कार्यालयका एक कर्मचारीले भने, ‘अहिले प्रदेश मातहत गएपछि झन् डामाडोल भएको सुनेका छौं । ’
अहिले धेरैजसो सडक आयोजना प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत छन् । सुवाघाट–टुँडीखेल सडकको जिम्मा पाएको लुम्बिनी/एमके/लोहनी जेभीका सञ्चालक प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री हुन् ।
सुर्खेतमा उक्त सडकसहित मन्त्री खत्री सञ्चालक रहेको निर्माण कम्पनीले चारवटा सडकको ठेक्का पाएको छ । सो कम्पनीले ठेक्का लिएका कुनै पनि सडकको काम सन्तोषजनक छैन् ।
आजको नागरिक दैनिकबाट









