न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी

विराटनगर, २५ असार ।
न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा १५ लाख रुपैयाँ भन्दा धेरै ठगी गरेको भन्दै ९ जना युवाहरुले उजुरी श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका छन् ।
मोरङ र सुनसरीका ९ जना युवाहरुले आफूहरु ठगिएको भन्दै सुनसरीका दिवाकर तब्दार र भोजपुरका दिनेश राईविरुद्ध श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका हुन् । भोजपुर घोडेटारका दिनेश राईसँग मिलेर सुनसरीको दुहबी नगरपालिका–११ का दिवाकर तब्दारले १५ लाख ७० हजार रुपैयाँ ठगी गरेको उनीहरुको आरोप छ ।
मोरङको ग्रामथान गाउँपालिका–५ का मनभरुकुमार माझी, ग्रामथान–६ का कान्छाकुमार माझी, सत्यनारायण माझी, ग्रामथान–३ का लक्ष्मीकुमार माझी, सुनसरीको दुहबी नगरपालिका–११ का रविनकुमार चौधरी, आशिष तब्दार, कमलकुमार चौधरी, मोरङको बूढीगंगा गाउँपालिका–४ मुकेश मगर, विराटनगर महानगरपालिका–१९ का जीतेनकुमार माझीले संयुक्त रुपमा उजुुरी दिएका हुन् ।
आफूहरुमध्ये प्रत्येकबाट एक लाख ७० हजार भन्दा धेरै रकम संकलन गरी ठगेको दावी उनीहरुको छ । श्रम तथा रोजगार कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलका अनुसार ठगी गर्ने गिरोहमा संलग्न तब्दार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालकोे फार्मेसी सञ्चालक हुन् ।
युवाहरुलाई मासिक एक हजार दुई सय ५० डलर तलब पाउने गरी क्यासिनोको सेक्युरिटी गार्डमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरको सञ्जेलको भनाइ छ । ठगीमा पर्ने सबै खेती किसानी युवा हुन् । श्रम कार्यालयमा उजुरी गरेको थाहा पाएपछि तब्दार सम्पर्कविहीन बनेको बताइएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले कसैले पनि म्यानपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सोसँग सम्बन्धित काम गर्न रोक लगाएको छ ।
यदी गरेमा निजलाई सोही ऐनको दफा ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । ऐनका आधारमा ठगी गर्नेमाथि कारवाही हुने सञ्जेलले बताएका छन् ।

 

आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here