
आजको अन्नपूर्ण पोष्टबाट
काठमाडाैं, २१ जेठ ।
पछिल्लो समय लोकगीत पनि ट्रेन्डिङको नम्बर वानमा आउन थालेका छन् । केही समयअघि सालको पात टपरी बोलको गीतले पाएको सफलतापछि अहिले प्रकाश सपूतको ‘गलबन्दी’ शिखरमा पुगेको छ ।
रिलिज भएको ६ दिनमा नै यसले ५० लाखभन्दा माथि भ्यु पाउँदै ट्रेन्डिङमा नम्बर वानमा पुग्न सफल भएको हो। सार्वजनिक गाडीदेखि टिकटक, सामाजिक सञ्जालमा यो गीत र यसका संवाद अनि डाइलग हिट छन् । गाउँघरमा रोधी गाउने परम्परामा आधारित यो लोकभाका गायक प्रकाश सपूतले तयार पारेका हुन् ।
बाग्लुङको औसत परिवारमा जन्मिएका सपूत दोहोरी ब्याटलबाट चर्चामा आएका थिए । यसअघि गीत गाउने र कोर्ने काममा सक्रिय भए पनि दोहोरी ब्याटलमा दिएको फरक प्रस्तुतिकै कारण उनी चर्चामा आए ।
आधुनिकीकरण र बाहिरी संस्कृतिको प्रभावसँगै नेपाली लोकभाका ओझेलमा पर्दै गएको अवस्थामा यो गीतले नयाँ उचाइ लिएको छ । केही वर्षयता नेपाली चलचित्रका गीतसंगीतले मौलिक पहिचान उठाउन थालेपछि नेपाली लोकभाका फेरि ब्युँतिएका हुन् ।
सुरुमा यो भाका सामान्य दोहोरी गीतजस्तै गरी बनाएको सपूत बताउँछन् । भन्छन्, ‘गीत बनाउँदा सामान्य तरिकाबाटै अगाडि बढेका थियौं तर काम गर्दै जाँदा नयाँनयाँ कन्सेप्ट आयो ।’ भिडियो सार्वजनिक भएपछि गीतले राम्रो ‘रेस्पोन्स’ पाएको उनी बताउँछन् ।
गायक सपूतको गलबन्दीमा ठेट नेपाली शब्द र सरल लोकभाकाको प्रयोग छ । साेमबारसम्म युट्युबमा ५३ लाख भ्युअर पाइसकेको यो गीतको म्युजिक भिडियोमा गायकले अघिल्लो म्युजिक भिडियो ‘बोलमाया’ को कथा जोडेका छन् । गलबन्दी पनि बोलमायाकै टिम सपूत, गायिका शान्ति श्री परियार र मोडल अञ्जली अधिकारी आबद्ध छन् ।
भिडियो









