दुई मात्रै कोठामा पाँच कक्षासम्म पढाइ

काठमाडाैं, २० जेठ ।
शुक्लागण्डकी नगरपालिका–१० बाड्राङस्थित शान्ति वर्ष प्राथमिक विद्यालयमा एउटै कोठामा तीनवटा कक्षाका विद्यार्थीलाई पढाइने गरेको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा कक्षाकोठा अभाव छ ।
त्यसैले बेग्लाबेग्लै शिक्षकले बेग्लाबेग्लै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरेका हुन् । प्रधानाध्यापक लक्ष्मी अधिकारी पौडेलका अनुसार विद्यालयमा जम्मा तीनवटा कोठा छन् । जसमध्ये एउटा कोठा विद्यालय भवन निर्माण गर्ने कामदारलाई बस्न दिइएको छ ।
‘कोठा अभावका कारण प्रशासन कार्यालयमै शिशु, एक र दुई कक्षाका बालबालिका राखेर पढाउँछौँ,’ उनले भनिन्, ‘अर्को कोठामा तीन, चार र पाँच कक्षाका बालबालिका राखेर अध्यापन गरिरहेका छौँ ।’ हिउँदमा चौरमै राखेर पढाए पनि वर्षामा हुरी र पानीका कारण समस्या भएको उनले बताइन् ।
तीनवटा कक्षाका विद्यार्थीलाई एकैसाथ बोलेर पढाउन असम्भव भएकाले शिक्षकहरूले अचम्मको मापदण्ड बनाएका छन् । ‘एउटै कोठामा तीनवटा बोर्ड राखेर तीनवटा कक्षाका विद्यार्थीलाई पढाउने गरेका छौँ,’ शिक्षक शिवराम गौतमले भने, ‘सबैलाई एकैसाथ बोलेर पढाउन सम्भव छैन । एउटा कक्षाका विद्यार्थीलाई लेख्न लगाउँछौँ, अनि अर्कोलाई हल्ला नगरी मनमनै पढ भन्छौँ र त्यसपछि अर्को कक्षामा पढाउँछौँ ।’
०७२ मा गएको भूकम्पले विद्यालय भवनको पश्चिमपट्टिको भागमा क्षति पुगेपछि कक्षाकोठा अभाव भएको थियो । भत्केको भवन भर्खर पुनर्निर्माण भइरहेको छ । ०४० मा स्थापना भएको यो विद्यालयको भवन पहिले नै जीर्ण थियो ।
विद्यालयका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय तनहुँबाट १३ लाख ५० हजार र नगरपालिकाबाट तीन लाख विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर अर्यालले बताए । निर्माण भइरहेको भवन सम्पन्न भएपछि पनि कोठा अभाव हुने अर्याल बताउँछन् । नयाँ भवन बनेपछि पाँचवटा कोठा हुने भए पनि त्यतिले नपुग्ने विद्यालयले जनाएको छ ।

आजको नयाँ पत्रिकाबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here