
बागलुङ, ३१ बैशाख ।
पश्चिम बागलुङको दुर्गम तमानखोला गाउँपालिकामा स्त्रीरोग तथा बालरोग सम्बन्धी वृहतः निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिकाको खुङखानी र तमान स्वास्थ्य चौकीमा भएको शिविरमा ४५० बालरोग, ३७१ स्त्रीरोग र ८४ जना जनरल गरी ९०५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
तमानखोला गाउँपालिका र रोटरी क्लव अफ बागलुङको संयुक्त आयोजना, तथा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा १९१ जनाको भिडियो एक्सरे गरिएकोमा ३७ जनालाई अप्रेशन तथा थप उपचार गर्नु पर्नेे पहिचान भएको डाक्टर नवराज पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण गर्ने अधिकांश महिलामा पाठेघर सम्बन्धी समस्या देखिएको छ ।
पाठेघर खस्ने, सुनिने, पाठेघर फुटने, तथा पित्तथैलीमा पत्थरीको समस्या देखिएको डा. पौडेलको भनाई छ । महिलाहरु लाजको कारण आफ्नो समस्या खुलाउन चाहेका छैनन उहाँले भन्नुभयो–‘सो क्षेत्रमा महिला रोगको समस्या बढीनै छ समयमै रोकथाम तथा उपचारको पहल गर्नु आवश्यक देखिन्छ । अधिकांस बालबालिकामा आँखा पाक्ने सम्बन्धी समस्या बढी रहेको बताइएको छ ।









